आज ‘तमु ल्होसार’ पर्व मनाइँदै

शुक्रबार, पुस १५, २०७९

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ ।

सामाजिक न्यायसहितको समृद्धिका लागि प्रेरणा मिल्ने विश्वास : प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तमु समुदायको ल्होसार पर्वले मुलुकमा सामाजिक न्यायसहितको समृद्धिका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
तमु (गुरुङ) समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना सन्देश व्यक्त गर्दै उनले “तमु जातिको नयाँ वर्षका रूपमा मनाइने यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु”, भन्नुभएको छ ।
गुरुङ समुदायले पुरानो बाघ वर्गलाई बिदाइ गरी आफ्नो पारम्परिक नयाँ बिरालो वर्गलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् भन्दै उहाँले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्ने उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार