सबै बामशक्ति एक ठाउँमा ल्याउन एमाले र माओवादीका नेता सक्रिय, माधव नेपाललाई मनाउने प्रयास 

सरकारमा सहभागी हुने–नहुने विषयमा गृहकार्य गर्दै एकीकृत समाजवादी
बुधबार, पुस १३, २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ राजनीतिक परिस्थिति देखा परेको भन्दै जिल्ला अध्यक्षहरुसँग संवाद थालेका छन् । भर्चुअल रुपमा भइरहेको संवादमा नेकपा (माओवादी केन्द्र) ले कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेसँग सहकार्य गरेको विषयमा नेपालले आफ्ना पार्टीका नेताहरुको धारणा बुझ्न छलफलको आयोजना गरेका हुन् ।
‘जिल्लाका अध्यक्षहरुसँग पछिल्लो परिस्थितिका बारेमा छलफल भइरहेको हो’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने । आजै नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा सरकारमा सहभागी हुन प्रचण्डले आग्रह गरेपछि सरकारमा सहभागी हुने नहुनेबारेमा पनि नेताहरुका बिचमा नेपालले छलफल गरिरहेका छन् । प्रचण्डसँगको भेटमा नेपालले आफूलाई थाहै नदिएर ओलीसँग सहकार्य गरेको भन्दै गुनासो गरेका थिए । मंगलवार नेपाललाई भेटेर पूर्व एमाले नेता बामदेव गौतमले पनि सत्ता गठबन्धनमा सहभागी हुन नेपाललाई सुझाव दिएका थिए । 
एकीकृत समाजवादीका नेताहरुका अनुसार नेपाल सत्ता गठबन्धनलाई सघाउन सकारात्मक छन्। माओवादी केन्द्रका नेताहरु एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन नेपाललगायत दोस्रो तहका नेताहरुसँग संवाद गरिरहेका छन् । अर्कोतर्फ नेकपा एमालेका नेताहरुले पनि नेपालसँगको संवादलाई बाक्लो बनाएका छन् । उनीहरुले फेरि पनि एमालेसँगै मिल्नुपर्ने भन्दै नेपाललगायतका नेताहरुलाई मनाउने प्रयास गरिरहेको बताइन्छ । आजै एमालेका नेता महेश बस्नेतले नेपाललाई भेटेका थिए।
यस्तै केही दिनअघि एमालेका नेता पृथ्वीसुब्बा गुरुङले पनि नेपाललाई भेटेर छलफल गरेका थिए। एकीकृत समाजवादीसँग प्रतिनिधि सभामा १० जना सांसद छन् । १० जना सांसदलाई नै एमालेमा फर्काए तथा केही स्वतन्त्र रुपमा चुनाव जितेका सांसदहरुलाई एमालेमा सहभागी गराए एमाले पहिलो पार्टी हुने भन्दै एमालेका नेताहरु त्यसको गृहकार्यमा लागेका हुन् । एमालेसँग हाल ७८ सांसद छन् । एकीकृत समाजवादी पनि एमालेमा मिसिए सांसद संख्या ८८ हुने छ । हाल नेपाली कांग्रेससँग ८९ जना छन् ।

एमालेका नेताहरुले एमाले छोडेका नेता प्रभु साहसँग पनि संवाद गरिरहेका छन् । मन्त्री भएपछि अर्थमन्त्री विष्णु पौडेलले पनि नेपाललाई भेटेर सत्ता गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह गरेका थिए । माओवादी केन्द्रले भने तत्काल पार्टी एकता भन्दा पनि गठबन्धन बनाएर अघि बढ्न खोजिरहेको छ । माओवादी केन्द्रका सचिव गणेश साहले तत्काल एमाले, माओवादी र समाजवादी एकता सम्भव नभएको बताए । ‘तत्कालका लागि मोर्चाबन्दीमात्रै हो। पछि त हुन पनि सक्छ’, उनले भने ।

एमाले–माओवादीका नेताहरुका बीचमा भएका पछिल्ला भेटहरुमा पार्टी एकताका विषयमा समेत अनौपचारिक छलफल हुन थालेको छ । यसअघि ओलीले प्रधानमन्त्रीको शपथको दिन पुस ११ गते शितल निवासमा नेपालसँगको संवादहीनता तोडेका थिए । अनौपचारिक कुराकानी भए पनि ओली–नेपालको उक्त संवादले अर्थ राख्ने दुबै पार्टीका नेताहरु बताउँछन् । ओलीले नेपालसँगको सम्बन्धलाई पनि सुधार गर्न चाहेका छन् ।
२०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधि सभाको विघटनपछि ओली, प्रचण्ड–नेपालको सम्बन्धमा दरार आएको थियो। एमाले र माओवादी एकता भएर बनेको नेकपा बदरका बेला एमालेमा फर्किएका नेपालसँग ओलीले पटक–पटक वार्ता गरेका थिए। तर वार्ता सकारात्मक नभएपछि ओली नेपाल आरोप प्रत्यारोपमा उत्रिए । नेपालले ओलीलाई ‘गफाडी’ भन्दै आरोप लगाउने गरेका थिए भने ओलीले नेपाललाई गद्दार भन्दै आक्रोश ब्यक्त गर्ने गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार