माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, भोली शपथ  

आइतबार, पुस १०, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डले आइतबार आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १७० सांसदको समर्थन पाएका छन् ।

9-10_प्रधानमन्त्री-नियुक्त-विज्ञप्ति-2079-scaled1671972338.jpg
प्रतिनिधसभामा  निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १७० सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेका हुन् । अब प्रचण्डले प्रधानमन्त्रीका रुपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।
प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन दिएका थिए । 

नयाँ प्रधानमन्त्रीको शपथ भोली 
नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको हो । अध्यक्ष प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री भएका हुन् । 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार