नयाँ समीकरणका लागि एमाले–माओवादीको अग्रसरता 

ओली, प्रचण्ड, रवि र अशोकबीच संयुक्त बैठक
आइतबार, पुस १०, २०७९

काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा सकिन लाग्दा दलहरुले छलफलाई तिब्रता दिएका छन् । बालुवाटारमा गठबन्धनबीच कुरा नमिलेपछि अहिले सत्ताका लागि समीकरण मिलाउन दलहरु बालकोटमा भेला भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीका नेताहरुबीच संयुक्त बैठक भइरहेको छ । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जसपाबाट अशोक राई छलफलमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आह्वान गरेको एक साताको समय आज पाँच बजे सकिनु अघि दलहरुले भेटवार्तालाई तीब्रता दिएका हुन् । 
भेटवार्तामा एमाले, माओेवादी र रास्वपाका शीर्ष नेता तथा दोस्रो तहका नेताहरु सहभागी रहेको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो । 

सत्तागठबन्धन दलको बैठक पुनः बस्ने
प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि सुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । बैठक केही बेरपछि पुनः बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । 
उनले भने, “गठबन्धन मुलुकको अहिलेको आवश्यकता हो, गठबन्धन दलको बैठक केही समयमा पुनःसञ्चालन हुन्छ, हामी निर्णयमा पुग्छौँ ।” गठबन्धन जनताले निर्वाचनका माध्यमबाट अनुमोदन गरिसकेको र जनताको अभिमतको आफूहरुले कदर गर्ने उनको भनाइ थियो ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् । 
हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् । 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार