कोभिसिल्ड खोपको उत्पादन पूर्णक्षमतामा 

आइतबार, वैशाख १९, २०७८

नयाँ दिल्ली । भारतमा अक्सफोर्ड–अस्ट्राजेनिकाको कोभिड–१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्णक्षमतामा खोप उत्पादन भइरहेको जनाएको छ ।  ‘कोभिसिल्ड’ नामबाट खोप उत्पादन गरिरहेको सेरमका प्रमुख कार्यकारी अदार पूनावालाले खोप उत्पादनको कार्यमा कुनै व्यवधान नरहेको र यो पूर्णक्षमतामा जारी रहेको बताएका छन् । सुरक्षा र धम्कीका कारण भारत छाडेको भनिएका पूनावालाले आफूले बेलायतमा साझेदारसँग छलफल गरेको स्पष्ट गरेका छन् ।  उनले ट्वीट गर्दै भनेका छन, ‘बेलायतमा हाम्रा सबै साझेदारसँग निकै राम्रो छलफल भएको छ । पुणेस्थित प्लान्टमा कोभिसिल्डको उत्पादन पूर्ण क्षमतामा भएकोमा खुशी लागेको छ । केही दिनभित्रै म भारत फर्किएपछि उत्पादनका बारेमा समीक्षा गरिने छ ।’ यसैबीच, सेरमले बुधबार भारतीय राज्यका लागि कोभिसिल्डको प्रतिडोज मूल्यलाई समायोजन गरी भारु ४०० बाट भारु ३०० बनाएको जनाएको छ ।  भारतको केन्द्रीय गृहमन्त्रालयले पूनावालालाई वाई वर्गीकरणको सुरक्षा दिइएको जनाएको छ । केही अघि प्रमुख कार्यकारी पूनावालाले खोप उत्पादनलाई तिब्रता दिन भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरेका छन् ।  भारत सरकारले कोभिसिल्ड खोप विदेश निर्यात गर्न रोकेपछि सेरमले भारत सरकार समक्ष आर्थिक सहायता माग गरिरहेको छ भने कोभिसिल्डको खोप विदेश निर्यात गर्न नदिइएको भन्दै सेरमसँग सम्झौता गरिसकेका अन्य मुलुकले पनि आपत्ति जनाएका छन् ।– एएनआइ
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार