सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६८९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाको सङ्ख्या दुई लाख १५ हजार ५४२ पुगेको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये ३३ लाख ४९ हजार ६४४ अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या एक करोड ५९ लाख ९२ हजार २७१ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड एक लाख ४२ हजार ३३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख चार हजार ९५४ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको छ ।– एएनआई