सोसल मिडिया
Contact Us
युनिकोड
वासिङटन । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना बाँकी सैनिक फिर्ता लान औपचारिक रूपमा प्रक्रिया अघि बढाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकको सबैभन्दा लामो युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने भन्दै आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सबै सैनिक फिर्ता लैजाने घोषणा गरिसकेका छन् । यद्यपि यसका लागि अफगानिस्तानको विद्रोही र सत्ताधारी नेताहरूसँग छलफलहरू जारी रहेको बताउँदै आइएको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग गरेको सम्झौतानुसार अमेरिकी सैनिक फिर्ता लाने मिति मे १ लाई तोकिएको भए पनि बाइडेन प्रशासनले सो समयसीमा कार्यान्वयका हिसाबले उपयुक्त नभएको भन्दै सेप्टेम्बर ११ लाई सारेको हो । सन् २००१ को सेप्टेम्बर ११ मा तीन हजार मानिसको ज्यान जानेगरी अमेरिकी ट्वीन टावरमा भएको आतङ्कवादी आक्रमणपछि अमेरिकी सेना अफगानिस्तानमा गएको थियो । उक्त आक्रमणको २० औँ वर्ष पूरा हुँदा आफ्नो सेनालाई पूर्णतया फर्काउने अमेरिकी निर्णयलाई संयोगका रूपमा हेरिएको छ । सेप्टेम्बर ११ को सो आक्रमणपछि अमेरिकी सैनिकले अफगानिस्तानमा तालिबानविरुद्ध आक्रमण सुरु गरेको थियो । आतङ्कवादी आक्रमणका लागि जिम्मेवार अल कायदाका नेता ओसामा बिन लादेनलाई संरक्षण दिएको तालिबानविरुद्ध अमेरिकाले थालेको सो युद्ध हालसम्म जारी रहेको छ ।– एएफपी