अक्सिजनको अभाव कम गर्न नाइट्रोजन प्लान्ट रूपान्तरण सम्भावनाबारे मोदीद्वारा समीक्षा 

आइतबार, वैशाख १९, २०७८

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशको नाइट्रोजन उत्पादन उद्योगहरूलाई अक्सिजन प्लान्टमा रूपान्तरण गर्नेबारे विज्ञहरूको सुझावबारे समीक्षा गरेका छन् ।  कोभिड–१९ महामारीबीच स्वास्थ्य क्षेत्रमा अक्सिजनको आवश्यकतालाई ध्यानमा राख्दै, भारत सरकारले अक्सिजन उत्पादन गर्न विद्यमान नाइट्रोजन प्लान्टहरूको रूपान्तरणको सम्भाव्यता खोजी गरेको हो । सरकारले विद्यमान नाइट्रोजन प्लान्टहरूलाई रूपान्तरण गरी अक्सिजनको उत्पादनका उपयोगमा ल्याउन सम्भावनाको खोजीका लागि विज्ञहरूसँग छलफल चलाएको हो । प्रधानमन्त्रीसँगको बैठकमा प्रधानमन्त्रीका मुख्यसचिव, मन्त्रिपरिषद् मामिला सचिव, गृहसचिव, सडक यातायात र राजमार्ग र अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।  अक्सिजनको विद्यमान आवश्यकतालाई परिपूर्ति गर्नेगरी नाइट्रोजन प्लान्टलाई उत्पादनका लागि रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको प्रगतिको उक्त अवसरमा समीक्षा गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उद्योगहरूसँगको छलफलमा हालसम्म १४ वटा उद्योगहरू रूपान्तरणका लागि पहिचान भइसकेका छन् भने बाँकी ३७ वटालाई पनि रूपान्तरण गर्न सम्भावना रहेको जानकारी उद्योगीहरूले दिएका अधिकारीहरूले बैठकमा जानकारी गराएका थिए ।  ‘अक्सिजनको उत्पादनका लागि परिमार्जित नाइट्रोजन प्लान्ट या त नजिकको अस्पतालमा सरुवा गर्न सकिन्छ वा प्लान्ट सार्न सम्भव छैन भने उद्योग नजिकै अस्थायी अस्पताल बनाएर पनि कोभिड–१९ का बिरामीलाई अक्सिजनको अभाव कम गर्न सहयोग मिल्ने’ सुझाव विज्ञहरूले प्रधानमन्त्रीलाई दिएका थिए ।  भारतमा विगत २४ घण्टामा तीन लाख ९२ हजार ४८८ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा समान्य कम भए पनि भारतमा भाइरस सङ्क्रमणको खतरा अझै बढ्ने अनुमान गरिएको छ ।  पछिल्लो २४ घण्टामा तीन हजार ६८९ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा जटिलता आउँदा मृत्यु भएको थियो । भारतमा अहिले कूल ३३ लाख ४९ हजारभन्दा बढी सङ्क्रमित अवस्थामा रहेका छन् ।  – एएनआई
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार