एमाले संसदीय दलको नेतामा केपी ओली निर्विरोध

मंगलबार, पुस ५, २०७९

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको हो । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन गर्न बाँकी छ । 

‘निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ’
एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन् । उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे । 
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरुको सम्मान एवं बधाईका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले नेपालको कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाएको र राष्ट्रिय मूलधारका रुपमा स्थापित गरेको धारणा राखे । हालै सम्पन्न निर्वाचनमा केही स्थानमा कमी कमजोरी पनि देखिएका बताउँदै आगामी दिनमा सुधार गरेर लोकतान्त्रिक प्रणालीको सुधारमा लागिपर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित नभएको र आगामी दिनमा सुखी नेपाली र समृद्ध नेपाल निर्माण निर्माणका लागि आत्मविश्वासका साथ अगाडि बढ्ने पनि बताए । 
निर्वाचनपछि पनि देश राजनीतिक अराजकतातर्फ गएको र आर्थिक हिसाबले सम्हाल्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले एमालेका जनप्रतिनिधिले वास्तविक अर्थमा भूमिका खेल्न आग्रह गरेका छन् । 
अध्यक्ष ओलीले नयाँ जनादेशपछि सहजरुपमा सरकार गठन हुनुपर्नेमा त्यस्तो अवस्था नदेखिएको तथा उत्पन्न भएको अलमलले देशको हित नगर्ने भन्दै त्यस्तो गतिविधिमा आफूहरु संलग्न नहुने बताए।
लोकतन्त्रमा गलत मानसिकता स्थापित हुन थालेकामा चिन्ता व्यक्त गर्दै उनले मर्यादित र अनुशासित प्रणालीको विकास हुनुपर्नेमा जोड दिए । 
कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउने जिल्ला अध्यक्षलाई अध्यक्ष ओलीले सम्मान गरेका थिए ।  यस्तै निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएका अध्यक्ष ओलीलाई पनि ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य विजयलाल श्रेष्ठले सम्मान गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार