‘नागरिक एप’ को औपचारिक उद्घाटन

अब लाइनबाट नभई अनलाइनबाट सरकारी सेवा 
आइतबार, वैशाख १९, २०७८

काठमाडौं । ‘नागरिक एप’ को आज औपचारिक उद्घाटन गरिएको छ । सम्पूर्ण नेपालीलाई डिजिटल सञ्जालमा गाँस्ने र त्यसैबाट सार्वजनिक सेवा  सहज रुपमा  नागरिकलाई उपलब्ध गराउने उद्देश्यले सो एप सार्वजनिक गरिएको छ । ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो एपको भर्चुअल  शुभारम्भ गरेका हुन् । कार्यक्रममा  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब लाइनबाट नभई अनलाइनबाट सरकारी सेवा प्राप्त गर्नका निम्ति सरकारले ‘नागरिक एप’ शुरुआत गरिएको जानकारी दिए ।  उनले भने, ‘नागरिक एपको शुभारम्भ सुशासन कायम गर्दै नेपाललाई भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका निम्ति पारदर्शिता कायम गर्न, झन्भझटिलो र परम्परागत सरकारी प्रणाली र प्रक्रियालाई अन्त्य गर्दै पेपरलेस, फेसलेस गर्दै सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो ।’  सरकारका प्रवक्ता गुरुङले अब जनताले अनलाइनबाटै बैँक खाता खोज्न सक्ने जानकारी दिए ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमै रहेको प्रत्येक स्थानीय तहमा द्रुत गतिको इन्टरनेट सेवालाई प्रत्येक स्थानीय तहका कार्यालय, विद्यालय, शिक्षण संस्था र सबै सार्वजनिक ठाउँमा पु¥याउने कार्य आजदेखि शुरु भएको उनको भनाइ थियो । सरकारले सबै जनताको पहुँचमा पु¥याउने गरी  आजदेखि फाइभजी शुरुआत छ । पत्रकारको प्रेस कार्ड अनलाइनमार्फत नवीकरण गर्न पाइने सुविधा मिलाइएको छ ।  त्यसैगरी सरकारले आजदेखि सबै सरकारी कार्यालयका बेवसाइट एकै ठाउँबाट हेर्न मिल्ने गरी व्यवस्था मिलाएको छ ।  उनले भने, ‘दूरसञ्चार सेवालाई सरल, सुलभ, भरपर्दो र विश्वसनीय बनाउँदै दुर्गम क्षेत्रका निम्ति दूरसञ्चार क्षेत्रको विशेष कार्यविधि बनाउँदैछौँ । हामी सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय  संकल्पलाई पूरा गर्न सूचना प्रविधिका क्षेत्रमा जोडिनु आवश्यक छ, त्यसमा जोडिएर समृद्ध नेपालको आधार निर्माण गर्नु जरुरी छ ।’ 
सूचना तथा सञ्चार प्रविधि दिवसको महत्वलाई बुझेर नै मन्त्रालयले ‘समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने नारा अघि सारेको उनको भनाइ थियो ।  ‘सूचना प्रविधिको विकासका निम्ति डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा शुरु भएको छ, यो नेपालको गेम चेन्जर प्रोजेक्टका रुपमा रहेको छ, यसलाई कार्यान्वयन गर्ने प्रक्रियामै अगाडि बढेका छौँ’, उनले भने । कार्यान्वयनका निम्ति आवश्यक नीतिगत विषय, निर्देशिका, कार्यविधि  र  संरचनागत विषय केही परिर्वतन गर्दै प्रधानमन्त्रीको नेतृत्वमा निर्देशन समिति निर्माण गरिएको पनि उनले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार