निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई वितरण गर्‍यो प्रमाणपत्र 

आइतबार, पुस ३, २०७९

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गरेको छ । 


आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा उक्त प्रणालीका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेका हुन् । 


समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गरे । समारोहमा सचिव दुवाडीले निर्वाचित सांसदहरूलाई बधाई दिँदै निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्बन्धित सबैमा धन्यवाद व्यक्त गरे । समारोहमा प्रमुख निर्वाचन आयुक्तसहित सबै माननीय निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो । आयोगले गत मंसिर २८ गते सो प्रणालीतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, नेकपा माओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच–पाँच जना निर्वाचित भएका छन् । 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार