नवनिर्वाचित एमाले सांसदलाई प्रेस चौतारी ललितपुरकाे सम्मान       

बिहीबार, मंसिर २९, २०७९

ललितपुर । मङ्सिर ४ गते  सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक तर्फ नेकपा एमालेबाट निर्वाचित सांसदहरुलाई पार्टी निकट प्रेस संगठन प्रेस चौतारी ललितपुरले बधाईसहित सम्मान गरेको छ ।   बिहीबार चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम महर्जन, प्रदेश सभामा निर्वाचित मधुसूदन पौडेल, रामेश्वर श्रेष्ठ, रघुनाथ महर्जन, प्रेमभक्त महर्जनको साथै समानुपातिकको तर्फबाट प्रदेशसभामा निर्वाचित अप्सरा चापागाइँलाई सम्मान गरिएको  हाे । निर्वाचनमा सूर्य चिह्नका उम्मेदवारलाई जिताउनका लागि प्रेसको तर्फबाट प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने जिल्लाका पत्रकारहरुलाई पनि पार्टी निर्वाचन प्रचारप्रसार उपसमितिले कदर पत्रसहित सम्मान गरेको छ ।  

सम्मानित हुने पत्रकारहरुमा प्रेस चौतारीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज इश्वरराज ढकाल,केन्द्रिय सदस्य सञ्चिता घिमिरे, उपत्यका प्रदेश समितिका महासचिव घनश्याम धमला, सदस्य दीपकप्रसाद घिमिरे, जिल्ला कमिटिका अध्यक्ष बालमुकुन्द आचार्य, उपाध्यक्ष नवीन लुइँटेल, शान्ति  घिमिरे, सचिव अशोक दुलाल, सहसचिव सन्तोष दहालसहित पत्रकारहरु ईश्वर महर्जन, सुभानु आचार्य, लक्ष्मण दुलाल, रवि महर्जन, ज्ञानबहादुर महर्जन, सुनिता विश्वकर्मा छन् । 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले ललितपुरले नौजना सांसद पदका उम्मेदवारमध्ये पाँचलाई निर्वाचित गराएर उच्चतम स्थान हासिल गर्न सफल भएको भन्दै प्रशंसा गरे । उनले भने, “यस जिल्ला चौतारी निकटका पत्रकारको ठूलो मेहनतका कारण ललितपुरका शिर्ष नेताले गौरव गर्न पाउने इतिहास बनेको छ ।” पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका अन्य शीर्ष नेताले समेत ललितपुरप्रति गर्ब महसुस गरेकाे बस्नेतको भनाई छ ।       319089961_661782255735053_1951817645224861572_n1671094967.jpg

एमाले जिल्ला कमिटीका अध्यक्ष पुरुषोतम आचार्यले चौतर्फी घेरबन्दीको बीचमा ललितपुरमा प्राप्त भएको नतिजा सुखद रहेको बताए । उनले भने, “गठबन्धन नभएर एक्ला एक्लै लडेको खण्डमा हामीले ललितपुरलाई लालकिल्ला बनाउने निश्चित थियो ।” यस्तो अवस्था हुँदाहुँदै पनि नौ उम्मेदवार मध्येमा पाँचले विजय हासिल गर्नु भनेको पनि निकै सकारात्मक पक्ष रहेको आचार्यले बताए  । 
निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक गोपाल सञ्जेलले एमालेका उम्मेदवारकाे जितमा प्रेस चौतारी ललितपुरमा आवद्ध पत्रकारहरुको  मुख्य भूमिका रहेको भन्दै प्रशंसा गरे ।  चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले ललितपुरका पत्रकारले अहोरात्र निर्वाचनमा मेहनत गरेका कारण सम्मानजनक मत ल्याउन सफल भएकामा चौतारीका सम्पूर्ण सदस्यलाई  धन्यवाद दिएका थिए ।      

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार