आवुधावीमा नेपाली श्रमिकको ज्यान खतरामा, घरफिर्ती कागजमा हस्ताक्षर गर्न मानसिक टर्चर

वैदेशिक रोजगारीका पीडा
बुधबार, मंसिर २८, २०७९

काठमाडौं । मानवतस्करको मन कतिसम्म कठोर हुन्छ भन्ने लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नामको मेनपावर कम्पनी र उक्त कम्पनीसँग संलग्न व्यक्तिका व्यवहारले देखाइरहेको छ । चार महिना अघि आवुधावीको फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा वाचमेन (सेक्यूरीटी गार्ड) को काम गर्न मोटो रकम बुझाएर गएका गोर्खाका हुमनाथ सापकोटाले यतीबेला न ड्यूटी पाएका छन्, न त आरामले बस्न नै । गएदेखिकै अर्थात् चार महिनादेखिको मासिक पारिश्रमिक नपाउँदा आफूलाई पठाउने कम्पनी लिंक इन्टरनेशनलमा गुनासो गर्दा उनले उल्टै मानसिक टर्चर बेहोर्न बाध्य भएका हुन् । घरफिर्ती कागजमा हस्ताक्षर नगरेसम्म उनको ज्यान खतरामा रहेको बताइएको छ ।
सापकोटा नेपाल फिर्ता आएपछि संवन्धित निकायमा उजुरबाजुर गर्न सक्ने भएकाले उनलाई त्यो प्रक्रियाबाट रोक्न र आफूखुसी फर्केको देखाउन मानवतस्करले हस्ताक्षर गर्न दबाब दिएका हुन् । हस्ताक्षर गर्न दबाब दिने क्रममा नेपाल फर्केपछि क्षतीपूर्ति उपलब्ध गराउने सम्मको आश्वासन दिए पनि सापकोटाले हस्ताक्षर गर्न मान्दै नमानेपछि पछिल्लो समय उनलाई धम्की समेत दिइएको छ । आफ्नो ज्यान खतरामा परेको महशुस गर्दै उनले विभिन्न निकायमा जानकारी समेत गराइसकेका छन् ।

paper1671024108.jpg
दुई लाख ६० हजार तिरेर आवुधावीमा वाचमेन अर्थात् सेक्यूरीटी गार्डको काम गर्न फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा गएका हुमनाथ सापकोटा लगायतको ६ जना र लेवर कामका लागि गएका २४ जना गरी एकै लटमा गएका ३० जनाको समुहलाई लिंक इन्टरनेशनल कम्पनीका मेनेजरले विदाईका क्रममा विमानस्थलमा ‘फ्रि भिसा, फ्रि टिकट भन्नु’ भनेर भनेपछि मात्रै आफूहरु फसेको बुझेका उनले निःशुल्क भिसा रहेछ भन्ने जानकारी त्यतीबेला मात्र पाएको बताए ।
चार महिनादेखि काम गरेको पारिश्रमिक पाउनु त परैको कुरा विहान–बेलुकीको खाना समेत बन्द हुन थालेपछि आफूहरुलाई पठाउने मेनपावर कम्पनीका सञ्चालक कमल काफ्लेलाई जानकारी गराउँदा उल्टो धम्की दिएको गुनासो सापकोटाको छ । कम्पनीमै कामदार आतंक मच्चीएपछि समस्याको सामाधानका लागि भनेर आवुधावी पुगेका मेनपावर सञ्चालक काफ्लेले समस्या झन् बल्झाएर फर्केका छन् । काफ्ले आवुधावी हुँदै हुमनाथलाई ड्यूटी रोकीएको र भिसा रद्दको कागजमा हस्ताक्षर गर्न पत्र थमाइएको थियो । तर, आफूले उचित पारिश्रमिक र उचित क्षतिपूर्ति नपाएसम्म हस्ताक्षर गर्नै नमानेपछि लिंक इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालक कमल काफ्ले काठमाडौं फर्केका थिए । उनले हुमनाथलाई नेपाली मिडीयामा आफूले समाचार उपलब्ध गराएको र आइन्दा नगर्ने लिखित प्रतिवद्धता जनाउन समेत धम्की दिएका थिए । तर, आफूले परिवारका सदस्यसँग पारिश्रमिक नपाएको बाहेक अरु केही गुनासो नगरेको साथै कोही पत्रकारसँग कुनै गुनासो पनि नगरेकाले समाचार कसरी प्रकाशित भयो, त्यसबारे आफू अनभिज्ञ रहेको बताइरहेका छन् । तर, लिंक इन्टरनेशनल मेनपावर कम्पनीले भने समाचार प्रकाशन गरेको आरोप उनै सापकोटा र उनीसँगै काम गर्ने अन्य वाचमेन र लेवरमाथि लगाइरहेको अवस्था छ ।  सुनसरीका सुरज गुरुड्ग, तनहुँका राम गुरुड्ग, दाडका शिव बादी र सुनिल नेपाली सहित अन्य दर्जन बढी श्रमिकलाई पनि लामो समयदेखि कामविहीन तुल्याइएको छ । २ लाख ७० हजार देखि ३ लाख २० हजारसम्म बुझाएर आवुधावी गएका उनीहरुलाई पनि कम्पनीले फर्काउन खोजीरहेको छ ।

letter1671024019.jpg
‘काम विहीन भएको पनि पाँच दिन भइसक्यो, न काम दिन्छ, न यसअघि गरेको कामको पारिश्रमिक’, हुमनाथको गुनासो छ, ‘काम नदिने नै भए बरु स्वदेश फर्काइदिए हुन्थ्यो । यहाँ मानसिक टर्चर बढी भयो ।’ सापकोटा आफूले कुनै पनि कागजातमा हस्ताक्षर भने नगर्ने अडानमा छन् । यता, मेनपावरवाला भने जवरजस्त फर्काइएको आरोप लाग्ने बुझेरै स्वेच्छाले फर्केको बताएर क्षतिपूर्ति तिर्न नपरोस् भन्ने मानसिकता पालिरहेको देखिन्छ । पछिल्लो समय लिंक इन्टरनेशनल मेनपावर कम्पनीबाट यसरी हस्ताक्षर गरी फर्केका थुप्रैले उचित क्षतिपूर्ति नपाएर मेनपावरले दिएको केही राहत रकम हात थाप्दै घर फर्केको अवस्था छ । उता, हस्ताक्षर गरेर फर्काइएकाहरुको हकमा वैदेशिक रोजगार विभागले पनि क्षतिपूर्ति नभराउने भएकाले वाठा मेनपावर कम्पनीले डर धम्की देखाएरै भए पनि उत्तैबाट त्यस्तो प्रोसेस चाल्न लगाउने गरेको पाइएको छ ।
‘तपाईंलाई कुनै गाह्रो पर्दैन, तपाईंकै राम्रोको लागि हो’ भन्दै लिंक इन्टरनेशनलका लेखापाल प्रकाश पौडेलले आफूले लेख्दै नलेखेको समाचार लेखेको स्वीकार गर्न र आइन्दा समाचार नलेख्ने प्रतिवद्धता जनाउन पत्रको ड्राफ्ट नै पठाएका थिए । तर, त्यो पत्रमा हस्ताक्षर कुनै हालतमा नगर्ने अडान सापकोटाको छ ।
स्मरणीय छ, यो समस्या भारतको मुम्वईमा मुख्य कार्यालय रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले नेपालमा आफ्नो शाखा कार्यालयको हैसियतमा सञ्चालन भइरहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस मार्फत कामदार पठाउँदा उत्पन्न भएको हो । भारतमा वैदेशिक रोजगारीमा गएका भारतीयमाथि शोषण भएमा कडा कानून भएकाले शोषण गर्नैका लागि भारतीय मानवतस्करको इशारामा नेपाली कामदार ओसार्ने गरिएको हो । त्यतातर्फ वैदेशिक रोजगार विभागको भने ध्यान पुगेको छैन । एउटै नाम, उही काम र दुरुस्त लोगो राखेर वैदेशिक रोजगारीमा सक्रिय लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नामको मेनपावर कम्पनीकै इशारामा नेपालमा नाईल ओभरसिजका रुपमा दर्ता भई सञ्चालनमा रहेको मेनपावर कम्पनीको नाम र लोगो परिवर्तन गरी केही वर्ष अघि मात्र लिंक इन्टरनेशनल प्सलेसमेन्ट नामाकंरण गरिएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार