सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । सरकारले चाँडै नै उक्त भवनमा सङ्क्रमितको उपचारका लागि आइसोलेशन शय्या सञ्चालनको तयारी थालेको छ । आजै सरकारले काठमाडौं उपत्यकामा रहेको निजी तथा सरकारी अस्पतालमा एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले अस्पतालमा शय्याको अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ । उपप्रधानमन्त्री पोखरेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका थिए ।–रासस