सोसल मिडिया
Contact Us
युनिकोड
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आइतबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीका अनुसार बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा आइतबार साँझ ६ बजे बस दुर्घटना भएको हाे । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइतेहरुमध्ये आठ जनाको बनेपास्थित शिर मेमोरियल अस्पताल र अन्य पाँचको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रनाउ न्यौपानेले बताए । दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ । बसमा सवार कति थिए भन्ने यकिन तथा मृतकको पहिचान हुन नसकको न्यौपानेले बताए ।
घाइतेको उद्धार गरी उपचार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा आज साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्रीले घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका हुन् । गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई दुर्घटनामा परी घाइते भएकाको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिएका छन् । बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना परेको थियो । घाइतेको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा कति यात्रु सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरिरहेको छ ।