जाजरकोट जीप दुर्घटनामा एकै वडाका आठसहित १२ को मृत्यु

मंगलबार, मंसिर २७, २०७९

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन् ।
त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी,  नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए । 
कर्णाली प्रदेश २००१ च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।
 
बिहेमा विवाद हुँदा ... 
छेडागाड नगरपालिका–५ लेवाका दीपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको बिहेको भोज खान उनी आइतबार त्यहाँ पुगेका थिए । बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका–४ भल्कुवाका महेश थापा बीच विवाद भयो ।
विवाद बढ्दै जाँदा दीपक र महेशबीचमा कुटाकुट भयो । दीपक घाइते भए । गाउँलेहरूले झगडा छुट्याए । तर दीपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपबाट प्रहरी कार्यालयसम्म पु¥याइदिन आग्रह गरे । 
दीपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्कने क्रममा उक्त जिप दशेराको भिरमा दुर्घटना भयो । उपचार र न्याय माग्न वडावन जाने दीपकसँगै अन्य बिहेभोज खाना आएका १२ जनाको मृत्यु हुन पुग्यो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार