तुलसीपुर–६ बरुवाका तीन बालक कारमा मृत भेटिए 

आइतबार, वैशाख १९, २०७८

दाङ । तुलसीपुर उपमहानगरपालिका–६को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ ।  मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका छ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।  यही वैशाख १६ गते बालकहरु हराएको र खोजी गरिदिन भनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा निजका अभिभावकले वैशाख १७ गते निवेदन पनि दर्ता गराएका थिए । अहिले शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। घटना के कसरी भयो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको र अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहित विशेषज्ञ टोली गएराति नै आएको तुलसीपुर इलाका प्रहरी प्रमुख सिंहले जानकारी दिए ।  उक्त कार सो स्थानमा विगत सात महिनादेखि पार्किङमा रहेको र कारका धनी यादव गैरेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा झिकाइएको  प्र्रहरीले जनाएको छ ।–रासस
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार