सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावरी नगरपालिका ७ देवीचौरमा मङ्सिर २० गते लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैङ्गिक समानतासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । ग्रामीण सामुदायिक संस्था विकास ( रिकोड ) को संयोजनमा श्री देवी महिला बचत तथा ऋण सहकारी संस्था लि। र सल्भ नेपालसँगको सहकार्यमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रिकोड देवीचौरकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले समाज परिवर्तनका लागि सबै पक्ष सक्षम हुन जरुरी रहेको बताइन् । उनले लिङ्गका आधारमा गरिने विभेद कानुनद्वारा दण्डनीय भएकाले यस्ता सबैखाले विभेदको जरा पत्ता लगाएर निर्मुल पार्न समाजका सबै पक्ष क्रियाशील हुनु पर्ने बताइन् । स्थानीय तहले पनि लैङ्गिक हिंसान्युनिकरणका लागि आवश्यक नीतिहरू ल्याउनु पर्नेमा तिमल्सिनाले जोड दिइन् । कार्यक्रममा देवी महिला बचत तथा ऋणसहकारीकी अध्यक्ष सुबद्रा बजगाईंले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन सके हिंसा न्युनिकरण हुने बताइन् ।अधिवक्ता विनिता गुरुङले कार्यक्रमका सहभागीहरूलाई महिलासँग सम्बन्धित कानुन तथा संवैधानिक अधिकार र यसको उपयोगिताबारे प्रशिक्षण दिइन् । गुरुङले लैङ्गिक समनताले मात्रै मुलुकको विकास हुने हुँदा लिङ्गका आधारमा कुनै पनि विभेद स्वीकार्य नहुने बताइन् । रिकोडले देवीचौरमा गत अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ । सो परियोजनमार्फत महिला शसक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको रिकोडकी समुदाय सहजकर्ता तिमल्सिनाले जानकारी दिइन् ।
उनका अनुसार आमा समूहमा आबद्ध महिलाका लागि पोषण सत्र, सासू आमाहरूका लागि पोषणसम्बन्धी अभिमुखिकरण, किशोरकिशोरीका लागि प्रजनन् स्वास्थ्य र पोषणसम्बन्धी जानकारी, समूह र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम, आयआर्जन र पोषण सुधारका लागि कृषक लक्षित कृषि र भेटेरिनरी तालिम तथा करेशाबारीमा लगाउने तरकारीका बिउबिजन सहयोग लगायतका क्रियाकलाप सञ्चालनमा छन् । यो परियोजना देवीचौरका साथै बागमती गाउँपालिकाका घुसेल, माल्टा, भट्टेडाँडा, इकुडोल र प्युटारमा सञ्चालन गरिएको रिकोडले जनाएको छ ।