बढ्दो जनसङ्ख्यालाई स्वच्छ पानी पुर्‍याउन चुनौती

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ । बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउने काम चुनौतीपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन् । मङ्गलबारदेखि यहाँ आरम्भ भएको पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक दुई दिने कार्यशालाका वक्ता तथा प्रस्तोता विज्ञहरूले सो कुरा बताएका हुन् । खानेपानी सचिव मणिराम गेलालले कार्यशालाको उद्घाटन गर्दै  बढ्दो सहरीकरण र जनसङ्ख्याको वृद्धिले संसारभर खानेपानी, ऊर्जा र खाद्यान्नको माग बढिरहेको छ भने । कार्यक्रममा पूर्वमन्त्री गणेश साहले पानीको स्रोतहरूको संरक्षण, आकाशे पानीको सदुपयोग , नवीकरणीय ऊर्जाको उपयोग , थोरै पानीको प्रयोग गरी बढी अन्न उब्जाउने प्रविधि विकास गरेर यो क्षेत्रमा देखिएका चुनौतीको समाधान गर्न सकिने सुझाव दिए ।
पूर्वसचिव सुमनप्रसाद शर्माले बढ्दो जनसङ्ख्यालाई स्वच्छ खानेपानी, पर्याप्त स्वच्छ ऊर्जा र पोषणयुक्त खाद्यान्न पुर्‍याउन सम्बन्धीत पक्ष गम्भीर हुनुपर्छ भने। 
स्मार्ट वास सोलुसन्सका अध्यक्ष  रामदीप साहले बढ्दो सहरी जनसङ्ख्याका लागि स्वच्छ खानेपानी, स्वच्छ ऊर्जा र पर्याप्त पोषिलो खाद्यान्न कसरी पुर्‍याउन सकिन्छ भनेर विकसित देशको अनुभव लिन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
एसियन वाटर काउन्सिल र के वाटरका जे डब्ल्यु लीले कोरिया वाटर (के वाटर) ले कसरी काम गरिरहेको छ भन्ने विषयमा प्रस्तुति दिएका थिए । 
विज्ञ डा उनहर शिनले पानी ऊर्जा र खाद्यान्नको अन्तरसम्बन्ध, सहरी खानेपानी  व्यवस्थापन, खानेपानीको चुहावट नियन्त्रण, दिगो विकास अनुरुपको व्यवस्थापन शैलीको बारेमा प्रकाश पारेका थिए । 
काठमाडौँ विश्वविद्यालयका प्रा डा बिम श्रेष्ठले पानी ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रविधिमार्फत नेपालमा खानेपानी, ऊर्जा र खाद्यान्न सुरक्षामा गरिएका योगदानबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी
लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन् । यो नहरको पानीले मेचीनगर १, २, ३ र ४ को एक हजार सात सय हेक्टर जमिन सिञ्चित हुँदै आएको छ ।
बाहुनडाँगीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने यो नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थानमा मुहान थापेर ल्याउनुपर्दा पहिराको उच्च जोखिममा सो नहर सधैँ रहेको सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताए । 
गत वर्ष कात्तिकमा परेको बेमौसी वर्षाका कारण आएको पहिराले नहरको मुहानलगायत विभिन्न ठाउँ भत्किएको थियो । सिँचाइ डिभिजन कार्यालय र सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिको पहलमा मर्मत भएपछि नहरमा पानी आउन थालेको छ ।
नेपाल सरकारका तत्कालीन मुख्यसचिव डा भोजराज घिमिरेको पहलमा विसं २०७२ मा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए । सरकारले सो नहर स्थापनामा ४४ करोड रुपैयाँ लगानी गरेको अध्यक्ष तिवारीले बताए।
बाहुनडाँगीका किसानले जङ्गली हात्तीबाट अन्नबाली जोगाउनका लागि चिया, सुपारी, तोरी, फापरलगायतको वैकल्पिक नगदे बालीको खेती गर्दै आएका छन् । पानीको अर्को वैकल्पिक व्यवस्था नहुँदा सिद्धिनहरबाट आउने पानीबाट नै सबै किसिमका बालीमा सिँचाइ हुने गरेको छ ।
उनले सो स्थानमा नियमित सिँचाइको विकल्पका रूपमा मेचीनगर– १ को निन्दा सिरानबाट करिब एक हजार तीन सय मिटरको सुरुङ निर्माण गरी सिद्धिनहरसम्म पानी पुर्‍याउन आवश्यक रहेको बताए।
विगतमा पटक–पटक यस विषयमा छलफल भए पनि राजनीतिक खिचातानीका कारण सो कार्य सफल हुन नसकेको उनको आरोप छ । उनले निन्दा खोलाको पानी सुरुङमार्फत नहरमा पु¥याउने हो भने त्यसैबाट पिउने पानी, बिजुलीसमेत निकाल्न सकिने बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार