आवुधावीमा नेपाली श्रमिक भोकभोकै, केहीलाई फर्काइँदै

लिंक इन्टरनेशनल मेनपावरका एजेन्टको भागमभाग  
शनिबार, मंसिर १७, २०७९

काठमाडौ । मेनपावर कम्पनीको आवरणमा ठगी गर्दै आएको बसुन्धारास्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमा यतीबेला कामदार आतंक छाएको छ भने त्यस मेनपावर कम्पनीका एजेन्टको भागमभाग भएको छ । मोटो रकम असुलेर आवुधावी पठाएका नेपाली श्रमिकले यतीबेला विहान(बेलुकीको खाना समेत खान पाइरहेको अवस्था छैन भने केहीले नियमित पारिश्रमिक नपाएकै कारण काम नगरेर बसेपछि उनीहरु मध्येका केहीलाई नेपाल फर्काउने तयारी भइरहेको छ ।  
आवुधावीबाट प्राप्त समाचार अनुसार त्यहाँको फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा त्यस्तो समस्या निम्तिएको हो । उक्त कम्पनीमा कार्यरत सयौं नेपालीसहित अन्य मुलुकका कामदारले समेत यतीबेला कामै नगरेर बसेका छन् । नियमित पारिश्रमिकबाट वञ्चित हुनु परेपछि उनीहरुले काम नगरेको र काम नगर्ने कसैलाई पनि कम्पनीले खाना उपलब्ध नगराएपछि त्यहाँ एक प्रकारको आतंक छाएको छ । भोकभोकै रहेकाहरुले नेपालमा आफन्त र मेनपावर कम्पनीका सञ्चालक कमल काफ्ले र लेखापाल प्रकाश पौडेललाई आफूहरुको समस्या जानकारी गराउँदा पनि सामाधानका लागि पहल हुनु परैको कुरा उल्टै धम्कीशैलीमा काम गर्न दबाब दिएको उनीहरुको गुनासो छ । आफन्तजनले एजेन्टलाई सम्पर्क गर्न थालेपछि उनीहरु समेत मोवाइल स्वीच अफ गरेर मेनपावरको मात्र सम्पर्कमा रहने गरी गुप्तवासमा रहेको बुझिएको छ । 

316701830_2252625194919937_5932918481874456157_n1670065176.jpgविगत ४ महिनादेखिको पारिश्रमिक नपाएपछि काम नगर्ने भन्दै बसेका दाडका शिव बादी र सुनिल नेपालीलाई आज फर्काउन लागिएको छ । उनीहरुले आफूहरुले पारिश्रमिक नपाएको भन्दै नेपाली दूतावासमा उजुरी गर्ने तयारीमा रहेको जानकारी गराएपछि लिंक इन्टरनेशनलका सञ्चालक कमल काफ्लेले दुवैजनालाई काठमाडौं फर्काउन लगाएका हुन् । काफ्लेले कतै उजुरबाजुर नगर्न र सिधैं मेनपावर कम्पनीमा आएपछि जाँदा बुझाएको खर्च र त्यहाँको पारिश्रमिक उपलब्ध गराउने भन्दै उनीहरु दुवैलाई कन्भिन्स गरेको बताइएको छ ।  त्यसो त फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा कार्यरत सबैलाई मंगलबारदेखि खाना दिन रोकिएको छ ।

आर्थिक संकटमा परेको कम्पनीले क्याट्रीड्गलाई लामो समयदेखि खानाखुवाएवापतको रकम समेत दिन छाडेपछि खाना दिन रोकिएको हो भने लण्ड्रीको काम पनि ठप्प छ । एक हजारको हाराहारीमा रहेका कामदारले पारिश्रमिक मात्रै होइन, बिहान(बेलुकीको खाना समेत खान नपाएपछि त्यहाँ एक प्रकारको आतंक नै छाएको छ । पैसा हुनेले बाहिरबाट खरिद गरेर खाएका छन् भने नहुनेले सरसापट गरेर भोक टारीरहेको अवस्था छ । न पारिश्रमिक, न खाना भएपछि निकै अफ्ठ्यारोमा परेका उनीहरुले मेनपावरमा दबाब दिँदै आफूहरुको उद्दार तत्काल गर्न अन्यथा सम्वन्धित ठाउँमा गुनासो गर्न बाध्य हुने बताएपछि यतीबेला लिंक इन्टरनेशनल प्लेसमेन्टका सञ्चालक अफ्ठ्यारो अवस्थामा परेका छन् ।

उक्त कम्पनीमा कार्यरत सबैको राहदानी कब्जा गरिएकाले नेपाली श्रमिक चाहेर पनि स्वदेश फर्कन सक्ने अवस्थामा छैनन् । आवुधावीमा समस्यामा परेकाहरुका परिवारले नेपालमा पठाउने एजेन्टको खोजी गर्न थालेपछि उनीहरु पनि एकाएक गायव भएको र मोवाइल पनि स्वीच अफ गरिएको उनीहरुको गुनासो छ । समाचार स्रोतका अनुसार ती एजेन्टलाई मेनपावर कम्पनीले काठमाडौंमै डाकेर समस्या सामाधान नभएसम्म यतै रहन निर्देशन दिएको बताइन्छ । तनहुँको भानु नगरपालिका(३ तुरतुरे घर भएका शन्त बहादुर गौचन मोवाइल नं। ९८१३१२९३४३ लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका तनहुँ एजेन्ट हुन् । उनले पछिल्लो पटक राम गुरुड, उद्धव माझी, सुनील गुरुड, आइतमान तामाडसँग जनही २ लाख ७० हजार लिएर  आवुधावीमा सेक्युरीटी गार्डका लागि काम गर्न लिंक इन्टरनेशलनलाई उपलब्ध गराएका हुन् । त्यस्तै, विवश नामका दोलखाका अर्का एजेन्ट मोवाइल नम्बर ९८१३२८३४२४ पनि यतीबेला सम्पर्कविहीन छन् । उनले दोलखाकै लाक्पा शेर्पा र पासाड शेर्पासँग जनही ३ लाख १० हजार असुलेर आवुधावीमा लेवर कामका लागि लिंक इन्टरनेशनलको सम्पर्कमा पुराएका थिए । उसको पनि पिडीतका आफन्तले व्यापक खोजी गरिरहेको अवस्था छ । 

316990551_469067478690573_5984549990285103398_n1670065198.jpg
त्यसो त आवुदावीको फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा मात्रै होइन, लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसबाट खाडी मुलुक र मलेसिया जाने नेपाली श्रमिक यतीबेला एकाध कम्पनीमा बाहेक चौतर्फी समस्यामा परेका छन्, उनीहरु शोषणमा परिरहँदा पनि वैदेशिक रोजगार विभागले उजुरी नपरेको भन्दै कारवाही तर्फ खासै चासो दिएको देखिन्न । वैदेशिक रोजगारीमा गएका प्रायः सबैको राहदानी कम्पनीले कब्जामा लिएको हुँदा उनीहरु चाहेर स्वेदश फर्कन सक्ने अवस्था छैन, त्यसैको फायदा रोजगारदाता कम्पनीले उठाइरहेको देखिन्छ ।  पैशाकै लागि एउटै नाम, उही काम, दुरुस्तै लोगो राखेर भारतीय कम्पनीको शाखा कार्यालयको हैशियतमा रमाइरहेको बसुन्धारास्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्ले बल्ल यतीबेला '....पनि सकेँ दैलो पनि देखे' को अवस्थामा पुगेका छन् । भारतमा मेनपावर व्यवसायको सुक्ष्म निगरानी हुने र कामदारको हितमा राज्यले ध्यान दिने भएकाले भारतको मुम्बईमा प्रधान कार्यालय रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले नेपालस्थित नाइल ओभरसिजलाई आफ्नै कम्पनीको हुबहु नाम परिवर्तन गर्न लगाएर शाखा कार्यालयको हैसियतमा आफूले डिमान्ड लिने नेपालबाट कामदार सप्लाई गर्ने योजना बुनेको हो । भारतीय  मानवतस्करको उक्त योजनालाई कमल काफ्लेले सघाएका हुन् । स्मरणीय छ, केही दिन अघि काफ्ले सञ्चालक रहेको लिंक इन्टरनेशलन प्लेसमेन्ट सर्भिसमा वैदेशिक रोजगार विभागले छापा हानेर आवश्यक  कागजात नियन्त्रणमा लिएकै बेला कामदार पठाइएकै कम्पनीमा पारिश्रमिक र खानापानी आतंक सिर्जना हुनुले अर्को तनाव सिर्जना गरेको अवस्था छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार