गठबन्धन दलबाट सरकार बनाउन पहल, देउवाले भेटे जनमत पार्टीका अध्यक्ष सिके राउतलाई 

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भेट गरी सरकार गठनका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारुढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ । यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा राउतबीच भेटवार्ता भएको थियो ।

ROS_KTM_PMDEUBA_CKRAUT1669935720.jpg
प्रतिनिधिसभा सदस्यमा डा राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित भएका छन् । समानुपातिकतर्फ सो पार्टीले हालसम्म कुल तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरी ४ सिट सुनिश्ति गरेको छ । 

गृहमन्त्रीसँग पनि राउतको भेट

प्रधानमन्त्री देउवालाई भेटे लगत्तै गृहमन्त्री बालकृष्ण खाणसँग पनि जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटवार्ता गरेका छन् । 
पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 
गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिएका थिए । आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको मन्त्री खाणको सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार