नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै  

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।
निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमति दिएको जनाइएको छ ।
     
निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिइन् । उनका अनुसार साताको दुई दिन (आइतबार र मङ्गलबार) काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर उक्त जहाज काठमाडौँ आउनेछ ।
 यसैबीच निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान हुने भएको छ । यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ । निगमले काठमाडौँ–दिल्ली गन्तव्यमा अव दैनिक दुई उडान गर्नेछ । पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएको थियो । तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने क्यानको बाध्यकारी निर्णपछि निगमको दिल्ली उडान कटौती भएको थियो ।

बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्याे
थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाज पुनः बैंकक उडेकाे निगमले जनाएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार काठमाडौँबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्केत गरेपछि बङ्गलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । “इन्डिकेटरमा धुवाँ आएको सङ्केत आएर डाइभर्ट गरिएको हो, जाँच गर्दा खासै समस्या देखिएको छैन”, प्रवक्ता खड्काले भनिन् । जहाजमा एक सय ५२ यात्रु सवार रहेका थिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार