झोलुङ्गे पुलले छोटियो दूरी 

बुधबार, मंसिर १४, २०७९

तनहुँ ।  मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ ।   दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताए  । आर्थिक वर्ष २०७६÷७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि विद्युत्को हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष ढिलो गरी उक्त पुल हालै सम्पन्न भएको हो । एन टाइपको सस्पेन्सन किसिमको करिब दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्ला पूर्वाधार कार्यालय तनहुँमाले सो पुल बनाएको हो ।  रु दुई करोड ६४ लाखमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इन्चार्ज इञ्जिनीयर शेखर रायमाझीले जानकारी दिए  । पिजन हिल होटल सञ्चालकसमेत रहेका  विवेक सापकोटाले दुई वडालगायतका करिब दश हजार बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएको बताए  । पुल बनेपछि स्थानीयलाई बिरामी हुँदा निकै राहत  मिलेको व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोलले जानकारी दिए  ।  रासस 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार