मनाइयो विवाह पञ्चमी पर्व

मंगलबार, मंसिर १३, २०७९

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व देशभर श्रीरामचन्द्र र सीताको पूजाआराधनासहित विवाह गरिदिएर मनाइएको छ ।
त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाइएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी भए ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिएको छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । 
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी भएका थिए । 
रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकअघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।
श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी सीता र रामको पूजाअर्चना गरेका छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।
उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका रामसीता मन्दिरमा पनि विशेष पूजाआराधना र महोत्सव गरी आज विवाह पञ्चमी पर्व मनाइएको छ । आज विवाह गर्न साइत नचाहिने मान्यता रहेकाले धेरै जोडीले लगनगाँठो कसेका छन् ।
यस अवसरमा पशुपतिनाथस्थित राममन्दिर, बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको श्रीरामचन्द्र मन्दिर, टेकुस्थित राममन्दिरलगायत देशभरका राममन्दिरमा पनि पूजाआराधना गर्ने भक्तजनको भीड लागेको थियो ।

राष्ट्रपतिको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले मार्ग शुक्लपञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् । 
राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ । सन्देशमा भनिएको छ, “प्राचीन सांस्कृतिक उत्सव विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीचको एकतालाई सुदृढ पार्न, मौलिक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न तथा सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”
प्राचीनकालदेखि नै यस क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको छु ।” प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिकस्थल जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रम मुख्य आकर्षण मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार