संयुक्त रूपमा दिवस मनाइयो विश्व सहर दिवस

मंगलबार, मंसिर १३, २०७९

काठमाडौँ । ‘दीगो विकासका लागि स्थानीय प्रयास’ भन्ने नारासहित विश्व सहर दिवस, २०७९ र विश्व सहरी योजना दिवस, २०७९ मनाइएको छ । हरेक वर्ष नोभेम्बर ८ का दिन विश्व सहरी दिवस मनाइन्छ । नेपालले सन् २०१९ देखि यो दिवस मनाउँदै आएको छ । यद्यपि यसवर्ष निर्वाचन आचारसंहिताका कारण ढिलो गरी यो दिवस मनाएको हो । 
सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले संयुक्त रूपमा दिवस मनाएका हुन् । दीगो विकासका लक्ष्य हासिल गर्न सहरी क्षेत्रको योगदानलाई पहिचान गर्दै सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्ने यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
नेपालले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको तर पूर्वाधार विकासका हिसाबले भने यो अवधिभित्रमा नेपाललाई सो लक्ष्य हासिल गर्न चुनौति देखिन्छ । सहरीकरणलाई विकासको प्रमुख मुद्दा मानेर अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्नु पनि यसको उद्देश्य रहेको छ । 
“स्थानीयको जबसम्म विकाससँग अपनत्व हुँदैन, तबसम्म विकासले पूर्णता पाउँदैन । यस कारण स्थानीयलाई पनि विकाससँग जोड्न सक्नुपर्छ ।” सहरी विकास मन्त्रालय निमित्त सचिव पद्मकुमार मैनालीले भने । बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापा भन्छन्, “जनप्रतिनिधि र कर्मचारीको सोचमा सकरात्मक ढङ्गबाट तर्जुमा गरिएका नीति निर्माण कार्यान्वयन गरेमा १० वर्षमा नेपाललाई उत्कृष्ट बनाउन सकिन्छ ।”
दिवसका अवसरमा दीगो विकासका विश्वव्यापी लक्ष्य हासिल गर्न भएका स्थानीय प्रयास र अन्तर्राष्ट्रिय विज्ञको अनुभव आदानप्रदान गरिएको थियो । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बागमती नगरपालिकालगायत विभिन्न नगरपालिका, काठमाडौँ उपत्यका विकास प्राधिकरण, राष्ट्रिय आवास कम्पनी, नगर विकास कोष, संयुक्त राष्ट्रसङ्घीय बसोबास कार्यक्रम, इञ्जिनियरिङ अध्ययन संस्थान, नेपाल नगरपालिका सङ्घ तथा विभिन्न गैरसरकारी सङ्घ संस्थाहरूको सहयोग एवं सहकार्यमा दिवस मनाएको हो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार