बस्ती हटाउन खोजेपछि सुकुम्वासीको विरोध

सोमबार, मंसिर १२, २०७९

काठमाडौँ । काठमाडौँ महानगरले थापाथलीस्थित वाग्मती किनारको सुकुम्वासी बस्ती हटाउन खोजेको भन्दै सो क्षेत्रमा बसोबार गर्ने नागरिकले विरोध गरेका छन् । बस्ती हटाउनका लागि आज दिउँसो काठमाडौँ महानगरको नगर प्रहरी र डोजर पुगेको थियो । महानगर प्रहरी र सुकुम्वासीबीच मुठभेड हुँदा साढे चार घण्टासम्म थापाथली परिसर असान्त बन्न पुगेको थियो । 
बस्ती हटाउने सूचना पाएपछि सुकुम्वासी बासिन्दा विरोधमा उत्रिएका थिए । उनीहरूले महानगर प्रमुख बालेन साह विरुद्ध नारा लगाएका थिए । बस्ती परिसरका सडकमा टाएर बाल्दै उनीहरू ढुङ्गामुढामा उत्रिएका थिए । “यसरी जबरजस्ती उठिबास लगाउन खोज्ने ? हामी सधैँ डोजर आतङ्कमा बस्न चाहादैनौँ । हाम्रो रहर हैन । विकल्पसहित महानगर आउँछ भने हामी छोड्न तयार छौँ”, लामो समयदेखि यही बस्दै आएकी स्मीता आचार्यले भने, “मेयर साहसँग हामीले पटकपटक वार्ता गर्न चाहेका थियौँ । तर उहाँले समय दिनुभएन । आज यसरी जबरजस्ती सुरक्षा बल प्रयोग भयो ।” 
केही बासिन्दाहरु विरोधमा उत्रिरहँदा केही भने घरबाट सामान निकाल्न व्यस्त थिए । यही बस्तीमा १७ वर्षदेखि बस्दै आउनुभएको ६५ वर्षीय रत्नबहादुर श्रेष्ठ घरभित्रका सामान बाहिर ओसार्न व्यस्त हुनुहुन्थ्यो । “म काममा थिए । यहाँ डोजर आएको थाहा पाउने वित्तिकै घर आए । सामान त निकाल्न पर्‍यो नि १ स्कुले नातीलाई पनि बस्ती हटाउनका लागि छिटो बिदा दिएछन् ।”
पुरानो ठेगाना सर्लाही भए पनि त्यहाँ आफ्नो जग्गा जमिन नभएको बताउने उनले भोट माग्न आउने नेता र स्थानीय नेताको प्रतिज्ञाले निराश मात्र बनाएको आक्रोश पोखे । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानान्धरले एकीकृत वाग्मती सभ्यता विकास समितिलाई सहयोग गरेको बताए, “वाग्मती सफा र स्वच्छ राख्ने अभियानका लागि सुकुम्वासी बस्ती हटाउने भनेपछि महानगरले सहयोग गरिरहेको छ ।”
उनले समितिले ४ गते मङ्सिरसम्मको अवधि दिए पनि बासिन्दाले अटेर गरेको बताए । “उहाँहरूलाई बस्ती हटाउन १० दिनसम्म म्याद दिएका थियौँ । अटेर गरेपछि आज गएका हौँ । यद्यपि आज बस्ती हटाउन सक्ने अवस्था छैन ।” 
यस सुकुम्वासी बस्तीमा एक सय ३६ घर रहेको छ । केहीबेर बासिन्दा र नगर प्रहरीबीच सामान्य मुठभेड भएको थियो । बस्ती तनावग्रस्त बनेपछि नगर प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटाइएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार