लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष ओली संसद् प्रवेश

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गरेका छन् । 
अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । अब उनले छैटौं पटक प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय संसद्मा प्रवेश गर्दैछन् । अध्यक्ष ओलीले ५२ हजार तीन १९ मत प्राप्त गरी जीत हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ प्राप्त गरे । अध्यक्ष ओली २८ हजार पाँच सय ७६ मताअन्तरले जित हासिल गरेका हुन् । 
दमक नगरपालिका–१०, झापा स्थायी ठेगाना भई हाल भक्तपुरको बालकोट निवासी पूर्वप्रधानमन्त्री ओली बाबु मोहनप्रसाद ओली र आमा स्व मधु ओलीको सन्तानको रुपमा २००८ फागुन ११ गते जन्मिएका हुन् । 
एमाले अध्यक्ष ओलीले २०२५ सालदेखि पूर्णकालीन राजनीतिक यात्राको आरम्भ गरेका थिए । विसं २०२९ मा झापा आन्दोलनपछि १४ वर्ष जेल जीवन व्यतित गरेका थिए । उनी २०४४ सालपछि पुनः पार्टी गतिविधिमा सक्रिय भएका थिए । 
पूर्वप्रधानमन्त्री ओलीले २०४६ सालमा तत्कालीन नेकपा मालेको लुम्बिनी प्रमुख भएर काम गरेका थिए । त्यस्तै, २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको संस्थापक अध्यक्ष भएर काम गरे । पूर्वप्रधानमन्त्री ओलीे २०४७ सालमा नेकपा एमालेको स्थायी समिति सदस्य बनेका थिए । 
ओली २०७१ सालमा एमालेको अध्यक्ष बनेका थिए भने २०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष बनेका थिए ।  
एमाले अध्यक्ष ओलीले २०४८, २०५१ र २०५६ सालमा झापा–६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी निर्वाह गरेका छन् । संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा–७ बाट निर्वाचित भई उनले संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । ओली सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित भएका थिए भने अहिले उनी झापा–५ बाट विजय भएका हुन् ।  
एमाले अध्यक्ष ओलीले २०७२ र २०७४ मा  गरी दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनले त्यसअघि, उपप्रधान एवं परराष्ट्रमन्त्री २०६३ सालमा र २०५१ सालमा गृहमन्त्रीको कार्यभार सम्हालेका थिए ।   
पाँच दशकदेखि राजनीतिमा सक्रियरूपमा रहेका एमाले अध्यक्ष ओली तत्कालीन नेकपा मालेका संस्थापक नेतामध्ये एक हुन् । दोस्रो पटक मुलुकको कार्यकारी नेतृत्वमा रहेका उनी स्पष्ट अडान राख्ने नेताका रूपमा पनि परिचित छन् । उनलाई युनिभर्सिटी फर पिस (कोस्टारिका), कोरियाको काइनाम विश्वविद्यालय, भारतको जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेका छन् । अध्यक्ष ओलीको विकास र राजनीतिक दृष्टिकोण समेटिएको पुस्तकसमेत प्रकाशित छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार