स्तरोन्नतिकाे तयारीमा सिद्धिचरण लोकमार्ग

शनिबार, वैशाख १८, २०७८

ओखलढुङ्गा । सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ । यसका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन  गरिइएको छ । जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको सडक यसैवर्ष स्तरोन्नति हुने भएको हो । मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिइ आवश्यक रकम विनियोजन भएको प्रदेश–१ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए । ऐतिहासिक महत्व बोकेको उक्त सडक सरकारले विशेष बजेटमार्फत स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘यो सडक प्रदेश–१ को समृद्धिसँग जोडिएको छ । यही मार्ग भएर माथिल्लो सगरमाथाका सोलु, खोटाङ, ओखलढुंगा र उदयपुरको उत्तरीक्षेत्रमा खाद्यन्न र निर्माण सामाग्री ढुवानी हुन्छ’, उनले भने, ‘म त्यो क्षेत्रको सांसद भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ । प्रदेश सरकारको सिफारिस र समन्वयमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रक्रिया शुरुआत हुन्छ । लोकमार्गको सडक चौडाई बढाएर ढल निकास सहितको व्यवस्थित बनाइने छ ।’ कटारी–घुर्मी–ओखलढुंगा सडक स्तरोन्नतिको माग गर्दै उदयुपरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध समेत गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रक्रिया शुरु गराउने प्रतिवद्धता जनाएका थिए ।  दशकौं अलपत्र बनेको सडक स्तरोन्नति हुने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । कटारी नगरपालिका १४ का रुद्र प्याकुरेलले लामो समयदेखि सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न गर्दै आएको माग ढिलै भएपनि पुरा हुनेभएपछि खुशी व्यक्त गरे ।  उनले भने, ‘हामीले निकै हारगुहार ग¥यौँ ।  सडक मर्मत गर्न माग गरेर कहीँ कतैबाट सुनुवाइ भएको थिएन ।’ कटारी–घुर्मी सडक मर्मत भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार