राजनीतिमा होमिएको पहिलो प्रयासमै संसद् प्रवेशको निकट शिशिर खनाल

दुई–दुई पटक चुनाव जितेका नेता तेस्रो नम्बरमा झर्नु पराम्परागत पार्टीप्रति मतदाताको आक्रोश 
मंगलबार, मंसिर ६, २०७९

काठमाडौँ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताले परम्परागत पार्टीका पाको उमेरका नेताप्रति अब आराम गर्दा राम्रो हुने सन्देशसहित मताधिकार प्रयोग गरेको पाइयो । मतगणना सुरु भएपछि मतदाताले नयाँ दल तथा युवा उम्मेदवारलाई छानी छानी मत दिएको प्रष्टै देखियो । मतदाताको यो ट्रेण्ड काठमाडौं क्षेत्र नं ६ मा देखियो । 
गठबन्धनका नाममा आफ्नो जित पक्का देख्ने निवर्तमान सांसद भीमसेनदास प्रधान तथा संगठन बलियो छ, मेरो चुनावी प्रतिस्पर्धी नेपाली काँग्रेस मात्रै हो भने नेकपा एमालेका स्वघोषित बलिया उम्मेदवार सर्वेन्द्र खनाललाई दोब्बर मतान्तरसहित पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल एक नासले अघि बढिरहनुलाई उनीहरुले मतदातालाई कति अवमूल्यान गरेका रहेछन् भन्ने प्रष्टै देखाएको छ । 
अमेरिकामा लामो समय अध्ययन गरी देशमा केही गरौं न त भन्ने चाहले स्वदेश फर्केर शिक्षा क्षेत्रमा क्रियाशील युवा शिशिर खनाललाई मतदाताले असाध्यै माया गरी मतदान गरेको अहिलेसम्म गणना भएको मतले देखाएको छ । शालिन व्यवहार तथा अमेरिकाबाट फर्केर सरकारी विद्यालयमा अध्ययन गर्ने  विद्यार्थीको सिकाइ शैली सुधारका लागि सुरु गरेको अभियानमार्फत गरेको काम नै मतदाताको मन जित्ने आधार बनेका हो शिशिरको । उनले ‘टिच फर नेपाल’ नामक  गैरसरकारी संस्थामार्फत सरकारी विद्यालयमा स्वयम् सेवक शिक्षक उपलब्ध गराएर शिक्षा क्षेत्रको सुधारका प्रयास गरेका थिए । उनको यो कार्यलाई धेरैले प्रशंसा गर्दै स्यावासी पनि दिएका थिए । 
पारिवारिक सम्बन्ध रहेका कारण शब्दपाटी डटकमले उनले उम्मेदवारी दिने तयारी गरेको अवस्थादेखि नै उनलाई सुष्म रुपमा फलो गरेको थियो । स्थानीय तहको निर्वाचन सकिए लगत्तै यो पंक्तिकार र काठमाडौं–६ का घण्टी चिह्न वाहक उम्मेदवारबीच भान्जाको ब्रतबन्धका सन्भर्दमा रानीवारी सामाखुसीमा भेट भएको थियो । शिशिरले भन्दै थिए, ‘यस पटकको संसदीय  निर्वाचनमा मैले पनि उम्मेदवारी दिने तयारी गरेको छु’ कसो होला । मैले उनलाई संसदीय निर्वाचनमै भनेर प्रश्न सोधें । ‘संसदीय निर्वाचनका लागि राम्रोसँग तयारी गर्नुपर्छ । कस्तो छ तयारी’ भन्दा उनी मुसुक्क हाँसेका थिए । उनले त्यति बेला भनेका थिए, ‘परम्परागत दलप्रति नकारात्मक धारण छ । राम्रो रणनीति बनाएर अघि बढ्दा जितिन्छ भन्ने मेरो विश्लेषण छ । मैले त्यसै अनुसार तयारी पनि गरेको छु ।’  परम्परागत पार्टीप्रति जनतामा रहेको नकारात्मक भावलाई क्यास गर्न सक्दा चुनाव जितिने रहेछ भन्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देखाइसकेका उदाहरण दिँदै उनले भनेको थिए, ‘युवा मतदाताको मन जित्न सक्दा परिवारकै मत पाउन सकिन्छ भन्ने आत्मविश्वास ममा छ । शिक्षाको अभियानले पनि जनतामा भिज्ने मौका दिएकै थियो । त्यो कामले पनि मलाई सहज बनाएको हो ।’यति कुरा भएपछि ल अघि बढ्ने भनेर हामी त्यहाँबाट छुट्टिएका थियौं ।
उम्मेदवारी मनोनयनको केही दिन अघि शिशिरसँग शब्दपाटीको कार्यालय सातदोबाटोमा भेट भएको थियो । ल मैले चुनाव लड्ने निर्णय गरेँ । मेरो मनोनयन १२ बजेर... मिनेटमा दर्ता हुन्छ ।’ उनको निर्णय सुनेपछि मैले मिडियाबाट गर्नुपर्ने सहयोग गरौंला शुभकामना भन्दै हामी छुटिट्एका थियौं । शिशिरले मनोनयन पनि दर्ता गरे, शब्दपाटीले मनोनयकै दिन शिशिर खनालको उपलब्धिलाई उल्लेख गरी समाचार पनि बनायो । उम्मेदवारी मनोनयनपछि उनी आफ्नो क्षेत्रका मतदातालाई भेट्न हिँडे । हामी आफ्नौ काममा लाग्यौं । उनको घर दैलो चलिरहेको थियो, एकदिन ललितपुरको लविम मलमा चिया पिउने सल्लाह भयो । त्यति बेला द नेपाल टपका सम्पादक डिल्लीराम आचार्य, शब्दपाटीकी सम्पादक रमा लुइँटेल, म र शिशिर खनालबीच लामो कुराकानी भएको थियो । उनी भन्दै थिए, ‘ग्राउण्डमा परम्परागत पार्टीप्रति निक्यै ठूलो विकर्षण रहेको मैले पाएँ । सर्वेक्षण गर्दा पनि मेरो पक्षमा माहोल बनेको देखियो । सांसद बन्ने आधार मैले प्रशस्तै भेटाएको छु ।’ उनको ‘कन्फिडेन्स’ हेर्दा हामी ट्वा परेका थियौं । नेता, उनका कार्यकर्ता, कर्मचारी मात्रैको कुरा सुनेर धारण बनाउने बानी परेका हामीलाई पनि यिनले अलि बढीनै कन्फिडेन्स देखाए भन्ने लागेको थियो । त्यति बेला हामीले उनलार्ई चुनाव प्रचारको शैली, सामाजिक सञ्जालको प्रयोगका बारेमा सुझाव दिएका थियौं । उनले त्यो सुझावलाई मनन गरी आफ्नो प्रचार अभियानमा प्रयोग पनि गरे । 
पारिवारिक सम्बन्ध पनि भएको नाताले एक दिन (शनिबार पारेर) उम्मेदवारको घर छेउछाउ सामाखुसी, टोखा, बानियाँटार क्षेत्रमा यो पंक्तिकार पनि घरदैलोमा गएको थियो । त्यति बेला मतदाताले उनीप्रति देखाएको माया भावले मलाई लागिसकेको थियो, ‘चुनावी माहोल उनको पक्षमा मज्जाले आइसकेछ, अव संसद् भवन छिर्न केही दिन मात्रै बाँकी छ ।’ 
बिहानको घरदैलो कार्यक्रमपछि खानाखाने समयमा शिशिरलाई मेरो सुझाव थियो, ‘निर्वाचन आयोगले तय गरेको मौन अवधि (स्थिर समय)मा ठूला दलको ‘पैसाको चलखेल’ रोक्न सकियो भने निर्वाचन परिणाम हाम्रो पक्षमा आउँछ ।’ मेरो कुरा सुनिसके पछि उनले हाँस्दै भनेका थिए, ‘हाम्रो यो सानो समूहले टोल टोलमा गएर निगरानी गर्न सक्दैन । चलखेलका लागि आउनेलाई हामीले चिन्दा पनि चिन्दैनौं । ठूला दलका असन्तुष्ठ कार्यकर्ताले त्यो कुरा हामीलाई जानकारी दिए भने हामी उनीहरुलाइै रोकौंला । तर दलका कारण उनीहरु मेरो समर्थनमा खुलेर लाग्न नसक्ने वाध्यतामा छन् । यो अवधि हाम्रा लागि कष्टकर नै हुनेवाला छ ।’ 
मत गणना जति जति बढ्दै गएको छ उत्ति उति प्रतिस्पर्धी उम्मेवारसँगको उनको मतान्तर बढ्दै गएको छ । काठमाडौं क्षेत्र नं ६ का मतदाताले उनीप्रति देखाएको भरोसाको मात्रा बढ्दो क्रममा छ । मतदाताको यो भरोसा अन्तिमसम्म यसरी नै अघि बढ्दै जाँदा उनलाई संसद् भवन प्रवेशको ढोका सहज हुनेछ । 
निर्वाचनमा खसेको मतले भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मतदाताले ठूलो भरोसा देखाएका छन् । यो पार्टीका नेता तथा उम्मेदवारले मतदाताको भरोसालाई टिकाइ राख्न सक्नुपर्छ । ६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार