भेन्टिलेटरसहितको सघन उपचार कक्ष प्रयोगविहीन

शुक्रबार, वैशाख १७, २०७८

बैतडी । नयाँ भेरिएन्टसहितको दोस्रो चरणको कोराना भाइरसको सङ्क्रमण फैलिरहेका बेला जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष प्रयोगविहीन भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गरेको उक्त भेन्टिलेटरसहितको सघन उपचार कक्ष अझै सञ्चालनमा आउन सकेको छैन ।  जिल्ला अस्पताललाई पाँच महिना पहिला प्रदान गरिएको उक्त भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो । कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मङ्सिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो ।  तीन महिना पहिला नै जडान गरिएको सो कक्ष दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले जानकारी दिए ।  गत मङ्सिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउन सहज होस् भन्ने हेतुले भेन्टिलेटरको कक्षमा उपकरण जडान गरिएको थियो । विशेषज्ञ जनशक्तिको अभावमा कक्ष सञ्चालनमा ल्याउन नसकिएको उनले बताए ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार