सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जलवायु परिवर्तनका कारण नेपालमा देखापरेको विकराल समस्यालाई वृत्तचित्रमार्फत पहिलोपल्ट अन्तरराष्ट्रिय मञ्चमा देखाइएको छ । नेपालका उच्च हिमाल, मध्यपहाड र तराई सबै भेगमा जलवायु परिवर्तनका असर, त्यसले महिला, बालबालिका र समग्र जनजीवनमा परेको असरबारे तयार पारिएको वृत्तचित्र ‘भ्वाइस फर जस्टिस’ इजिप्टमा जारी कोप–२७ महासम्मेलनमा देखाइएको हो । इजिप्टको शर्म अल शेखमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप २७) मा नेपालले हानी नोक्सानी र जलवायू न्यायका मुद्दालाई विभिन्न ढङ्गले उठाइरहेको छ । सोही क्रममा ‘साथसाथै’ फाउण्डेसनले बनाएको यो वृत्तचित्रलाई बुधबार यूएनएफसीसीसी स्वयंले संयोजन गरेको कार्यक्रममा देखाइएको वृत्तचित्रका लेखक एवं निर्देशन वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतले जानकारी दिए । सोही महासम्मेलनमा नेपालमा अन्य सहयोगी गैरसरकारी संस्थाले आयोजना गरेका कार्यक्रममा पनि उक्त वृत्तचित्र देखाइएको थियो । वृत्तचित्रमार्फत नेपालको उच्च हिमाल, पहाड, तराईका बारे सचित्र प्रस्तुति गरिएको साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । यो वृत्तचित्रले नेपालमा भएको हानी नोक्सानीको क्षतिपूर्तिका लागि विश्वले ध्यान दिनुपर्ने सन्देश दिएको छ, उनको भनाइ छ । वृतचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा हिँउ कमी भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, वेमौसमी वर्षाले धनजन, अन्नबालीमा पुर्याएको क्षति समेटिएको छ । गत वर्ष मार्च–८ मा साथसाथैले विभिन्न क्षेत्रका अगुवा ४० जना महिलालाई सगरमाथा आधारशिविर, कालापत्थरसम्मको पैदलयात्रा गराएको थियो । वृत्तचित्रमा त्यसको सन्देशसहित सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्य देखि डोल्पामा यसैवर्ष वर्षाले पुर्याएको क्षति त्यसमा समावेश छ । अत्यन्तै न्यून कार्वन उत्पादन हुने नेपालमा जलवायू परिवर्तनको क्षति भने ठूलो छ । यो सम्मेलनमा हानी नोक्सानी र जलवायु कोषसमेतको मुद्दामा छलफल जारी छ । “नेपालमा भएको हानीनोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन यो वृतचित्रले भूमिका खेल्छ भन्ने विश्वास लिएको छु”, अध्यक्ष कार्कीले भनिन् । वृत्तचित्र वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोषसहितको समन्वय र सहकार्यमा निर्माण भएको उक्त संस्थाले जनाएको छ । वृतचित्र प्रदर्शनपछि विश्वका सहभागीले नेपालमा क्षतिपूर्ति र न्याय कसरी दिलाउने भन्नेमा बहस केन्द्रित गरेका छन् । यो वृत्तचित्रमा लेखन र निर्देशन वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतको रहेको छ । यूएनएफसीसीसीको प्रर्दशनमा नेपालबाट निर्देशक बस्नेत र डा सिद्धार्थ बजाचार्यले जुममा सहभागीाता जनाउनुभएको थियो ।–रासस