अत्यधिक चिसोका कारण ग्यास नबल्दा मतदानका लागि खटिएका कर्मचारीलाई सकस

शुक्रबार, मंसिर २, २०७९

मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । 
“खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो । बलेन, चिसोले होला”, सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भने, “आगो बाल्न दाउरा किन्दा भारीको दुई हजार रुपैयाँ पर्‍यो । समस्या टार्नै पर्‍यो ।”
उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन् । केही नजिकै अन्य दुई मतदान केन्द्र रहेको छ । त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बालगायत ठाउँमा बास बसेका छन् । चिसो बढेको र पानीसमेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् । 
सडक सञ्जालले नजोडिएको नार्पाभूमि–४ फू गाउँ (चार हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बर्ताए । “यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ । बाहिर निस्कन सकिरहेको छैन । यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,” रेग्मीले भने । 
मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बर्र्ताए । बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर मतदान केन्द्रमा पुगेका थिए । सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उनल
बताए । 
“यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । दुई दिन लगाएर उनीहरु पुगेका छन् । ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,” उनले भने । नार गाउँमा चिसोले ग्यास नबलेको र चार वटा दाउराकै रु एक हजार पाँच सय तिर्नुपरेको उनले बताए । 
निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक दुई हजार पाँच सय दिन्छ । कार्यालय सहयोगीले एक हजार दुई सय पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको छ सय रुपैयाँ पाउँछन् । “एक गिलास तातोपानीको एक सय रुपैयाँ पर्छ । सुगममा छ सय रुपैयाँले दुई छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै समस्या छ,” उनले भने । 
मनाङमा दुई सय कर्मचारी खटिएका छन् । सिङ्गो नार्पाभूमि गाउँपालिकामा चार सय ६८ मतदाता रहेका छन् । वडा नं १ को कार्यालय नारगाउँमा ९६, वडा नं २ को नार आधारभूत विद्यालयमा एक सय तीन र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा एक सय २० मतदाता छन् । 
फू गाउँअन्तर्गत वडा नं ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा नं ५ को कार्यालयमा ७१ मतदाता छन् । मनाङ जिल्लामा पुरुष तीन हजार दुई सय ८१ र महिला तीन हजार चार सय ९८ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा उचाइमा रहेको नार (चार हजार दुई सय मिटर ) मा धाराको पानीसमेत जमेको मतदान अधिकृत बताउँछन् ।–रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार