रातो मछिन्द्रनाथ जात्रा सन्दर्भमा सरोकारवालासँग छलफल 

संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी 
शुक्रबार, वैशाख १७, २०७८

ललितपुर । रातो मछिन्द्रनाथको जात्रा न्यून जनसहभागितामा स्वास्थ्य मापदण्ड अपनाउँदै मनाउन सरोकारवालाहरुले छलफल गरेका छन् । ललितपुर महानगरले शुक्रकार यो जात्रा मनाउन २१ वटा जातीय खल पुचःहरुको नेतृत्व गरिरहेको ज्यापु समाजका प्रतिनिधिसँग जात्रालाई सुरक्षित र न्यून सहभागितामा सांकेतिक रुपमा सम्पन्न गर्ने सन्दर्भमा छलफल गर्न  बैठक आयोजना गरेको हो ।  बैठकमा ललितपुर महानगरप्रमुख महर्जनले महानगरको तर्फबाट रातो मछिन्द्रनाथको जात्रामा कमि कमजोरी हुन नदिने बताए । नगरप्रमुख महर्जनले जात्रालाई विद्युतीय सञ्चारमाध्यम मार्फत लाइभ गरेर घरमै बसेर हेर्न सक्ने व्यवस्था मिलाउने बताए ।   महानगरले मास्क, पन्जा, स्यानिटाइजर र थर्मल गन उपलब्ध गराउने भएको छ । यसैगरी महानगरले रथ यात्राको रुटलाई व्यवस्थित गर्न नगरप्रहरी परिचालन गर्ने जनाएको छ । 

महानगरका प्रवक्ता राजु महर्जनले यो जात्रासँग सम्बन्धित सबै खलपुचःसँग छलफल गरेर न्यून सहभागितामा स्वास्थ्य मापदण्ड अपनाएर जात्रा सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरे ।  ज्यापू समाजका अध्यक्ष तथा पूर्वसांसद चन्द्र महर्जनले जात्रालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि आन्तरिक जात्रा व्यवस्थापन समितिसँग पटक पटक बैठक बसेको जानकारी दिए । उनका अनुसार कार्यसमितिमा पनि यस विषयमा छलफल भएको छ ।  बैठकमा आन्तरिक जात्रा व्यवस्थापन समितिका संयोजक तथा समाजका उपाध्यक्ष मोहन व्यन्जनकारले विषम परिस्थितिमा जात्रा संचालन गर्नु चुनौतीपूर्ण भएको बताए । महामारीको यो बेलामा न्यून सहभागितामा स्वास्थ्य मापदण्ड अपनाएर जात्रा मनाउनु बुद्धिमानी हुने बताए ।  बैठकमा ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जन, उपाध्यक्ष किरण डंगोल, कोषाध्यक्ष बालकृष्ण महर्जनले आफ्नो भनाई राखेका थिए । उनीहरुले जात्रामा न्यून सहभागिता र स्वास्थ्य सुरक्षा मापदण्डलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका सन्दर्भमा अन्य समूह र सरोकारवालासँग छलफल भएको बताए ।  महानगरले जात्रासँग सरोकार राख्ने अन्य खल पुचःहरुसँग पनि अर्को चरणमा छलफल गर्ने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २१:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार