सोसल मिडिया
Contact Us
युनिकोड
लन्डन । हामीले कोरोनाभाइरसविरुद्धका खोपबारे निकै धेरै शेअर गरिएका केही मिथ्या दाबीको परीक्षण गरेका छौँ । तिनमा खोपको नाममा आनुवंशिक कोड परिवर्तन गर्न लागिएको कुरादेखि मानिसहरूमा माइक्रोचिप्स हाल्न लागिएको दाबीसम्म छन् ।
‘डीएनए परिवर्तन’का दाबी सामाजिक सञ्जालमा बारम्बार देखिने एउटा झुट चाहिँ खोपले कुनै न कुनै रूपमा तपाईंको डीएनए परिवर्तन गरिदिन्छ भन्ने छ । बीबीसीले तीनजना स्वतन्त्र वैज्ञानिकहरूलाई यसबारे सोधेको छ । उनीहरूले कोरोनाभाइरस खोपले मानव डीएनए परिवर्तन नगर्ने बताए । अहिले विकास गरिएका केही नयाँ खोपमा–हालै यूकेले स्वीकृति दिएको फाइजर र बायोएनटेकको खोपसहित–भाइरसको आनुवंशिक कण वा मेसिन्जर आरएनए प्रयोग गरिएको हुन्छ । ‘मानिसको शरीरमा आरएनए पठाउँदा त्यसले मानव डीएनएमा केही असर गर्दैन’ अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जेफ्रे आल्मन्डले बताए । यसले शरीरलाई कोरोनाभाइरसको सतहमा हुने जस्तै प्रोटीन बनाउन लगाउँछ । त्यसपछि मानिसको प्रतिरोध प्रणालीले त्यस्ता प्रोटीनलाई चिन्छ र तिनलाई नाश गर्ने एन्टिबडी बनाउँछ । बिल गेट्सले खोपको प्रयोग गरेर मानव डिएनएमा परिवर्तन गराउन वा गडबडी गराउन खोजेका हल्ला निकै शेअर भएका छन् कोरोनाभाइरस खोपले डीएनए परिवर्तन गर्छ भन्ने दाबीबारे हामीले गत मे महिनामै छानबिन गरेका थियौँ । त्यतिखेर एउटा भिडिओमा त्यस्तो दाबी गरिएको थियो । एमआरएनए प्रविधिको खोप पहिले कहिल्यै परीक्षण वा स्वीकृत नगरिएका चर्चा चलेका छन् । यो साँचो हो कि एमआरएनए खोप यसअघि स्वीकृत भएको थिएन । तर यो विधिबारेका अनुसन्धान गत केही वर्षदेखि नै हुनथालेका थिए । अनि महामारी भएपछि त यसको परीक्षण हजारौँ मानिसमा गरिसकिएको छ । सबै नयाँ खोपजस्तै कोभिडका खोपहरू पनि विभिन्न चरणमा परीक्षण गरिएको छ । पहिलो र दोस्रो चरणमा थोरै संख्याका मानिसमा यो कत्तिको सुरक्षित छ अनि कति मात्रा उपयुक्त हुन्छ भनेर परीक्षण गरिन्छ । तेस्रो चरणमा हजारौँ मानिसमा यसको प्रभावकारिता जाँचिन्छ
बिल गेट्स र माइक्रोचिपसम्बन्धी दाबी अर्काे हल्ला वा षड्यन्त्रको दाबी संसारभरि फैलिएको छ । यो हल्लाले के भन्छ भने कोरोनाभाइरस महामारी एउटा गोप्य योजना हो जसको नाममा मानिसहरूलाई निगरानीमा राख्न सकिने माइक्रोचिप जडान गर्न खोजिँदैछ । यो सबै योजनाका पछाडि माइक्रोसफ्टका संस्थापक बिल गेट्स रहेको दाबी गरिएको छ । तर यथार्थ के हो भने कुनै खोपमा ‘माइक्रोचिप’ छैन र बिल गेट्सले यस्तो योजना बनाइरहेको कुनै प्रमाण छैन । बिल तथा मेलिन्डा गेट्स फाउन्डेशनले बीबीसीलाई यो हल्ला एकदमै असत्य भएको प्रतिक्रिया दिएको छ । एकजना टिकटक प्रयोगकर्ताले आफूमा माइक्रोचिप जडान गरिएको भन्दै भिडिओ बनाएकी छन् । खोपलाई ‘दैत्यको छाप’ भनेकी छन् । महामारीका बेला अर्बपति बिल गेट्सलाई जोडेर धेरै हल्ला फिँजिए । उनले जनस्वास्थ्य तथा खोप विकासमा गरिरहेको परोपकारका कारण पनि उनी निसानामा परेका छन् ।
भ्रुणको तन्तु प्रयोग भएको दाबी खोपहरूमा गर्भपात गरिएको शिशुको भ्रुणको फोक्सोको तन्तु प्रयोग भएका हुन्छन् भन्ने हल्लाहरू पनि चलेका छन् ती असत्य हुन् । ‘कुनै पनि खोप विकासको कार्यमा भ्रुणका कोष प्रयोग हुँदैनन्’ साउद्याम्पटन यूनिभर्सिटीका डा. माइकल हेडले बताए ।–बीबीसी