सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । विश्वका ४० भन्दा बढी देशले भारतलाई कोभिड– १९ का विरुद्धको लडाइँमा सघाउने जनाएका छन् । ती देशहरूले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरू सहयोग गर्ने बताएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले जानकारी दिएका छन् । उनले विश्वका ४० भन्दा बढी देशले भारतले कोभिडका विरुद्धमा गरेको सङ्घर्षलाई सघाउने बताएका जानकारी दिए । ती देशहरूले भारतलाई आवश्यक पर्ने औषधि, स्वास्थ्य उपकरणहरू, जनस्वास्थ्य अधिकारीहरू, अक्सिजन उत्पादनका लागि आवश्यक पर्ने उपकरण तथा सामग्रीहरू आदि सहयोग गर्ने भएका हुन् । भारतमा हाल कोभिडको अवस्था निकै तीव्र गतिमा वृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट सङ्क्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिस यही सङ्क्रमणबाट नै मृत्यु हुने गरेका छन् । भारतका अधिकारीहरूले बिहीबारको तथ्याङ्क सार्वजनिक गरेअनुसार त्यहाँ तीन लाख ८० हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको छ भने तीन हजार ६०० भन्दा बढीको यही सङ्क्रमणबाट ज्यान गएको छ । हाल भारतका दुई लाखभन्दा बढीको यसै सङ्क्रमणबाट ज्यान गइसकेको बताइएको छ । भारतमा पछिल्लो समयमा अस्पतालमा बेड अभाव भएको छ भने सिकिस्त बिरामीलाई अक्सिजन दिनसक्ने अवस्था पनि नभएको देखिएको छ । भारतको यो अवस्था भएका कारण विश्वका देशहरूले उसलाई सहयोग गर्ने बताएका हुन् । यसअघि संयुक्त राष्ट्रसङ्घले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने बुधबार मात्र जनाएको थियो । संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बुधबार कोभिड १९ को सङ्क्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रसङ्घले यसका विरुद्धमा भारतलाई सघाउने बताएका थिए । विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरू खरिद गरेर पठाएको बताएका छन् । त्यस्तै भारतका अस्पतालहरूमा आवश्यक भेन्टिलेटरहरू पनि पठाइएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायले भारतलाई पीपीई, पीसीआर परीक्षण गर्ने मेसिनका साथै अरू उपकहरणहरू पनि पठाएको जनाएका छन् । भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य सङ्गठनले दुई हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य अधिकारी पठाएको जनाएको छ ।–सिन्ह्वा