नयाँपुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

सोमबार, कात्तिक २८, २०७९

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका  छन्  । उनले ले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे  । “निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्”, प्रधानमन्त्री देउवाले भने , “निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश तपाईंहरूले दिनुपर्यो ।” उनले नेपाली कला क्षेत्रको समस्या समधानका निमित आफू सदैव तयार रहेको बताए  । 

भेटघाटमा सहभागीहरूले फिल्म, सङ्गीतलगायतको क्षेत्रमा देखिएको समस्या उठान गरेका थिए । उनीहरूले फिल्म छायाङ्कनको समस्या, छायाङ्कनमा अनुदान, फिल्ममार्फत पर्यटन प्रवर्द्धन, सङ्गीतको रोयल्टी, ओटीटीको विषयमा देखिएको केही समस्या उठान गरेका थिए । “समस्याहरूलाई हामीले सम्बोधन गर्नेछौँ । हामीलाई समस्याका बारेमा अवगत गराइरहनुस् । म सदैव सकारात्मक छु”, प्रधानमन्त्री देउवाले भने  । 

प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेत्री देउवाले चुनावपश्चात पनि यस्ता छलफल अझै बढाउने बताइन  । “निरन्तर संवादले नै समस्याको हल दिन्छ । हामी आफ्नो कला, संस्कृतिको प्रवर्द्धधन गर्न तत्पर छौँ । छलफलसँगै आउँदो दिनमा निकास दिनेछौँ”, उनले भनिन्  । भेटघाट तथा छलफलमा नयाँपुस्ताका कलाकर्मीहरू पूर्णिका सिजापति, उषा उप्रेती, एलिना चौहान, एलिजा गौतम, जेबिका कार्की, रिस्ता बस्नेत, सुधीर श्रेष्ठ, युवराज चौलागाईं, निर्माता सरोज न्यौपाने र निर्देशक हेमराज बिसीलगायतको सहभागिता थियो ।    


 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार