कर्णाली र सुदूरपश्चिमवासीमा भूकम्पको त्रास

बिहीबार, कात्तिक २४, २०७९

कर्णाली । कर्णाली र सुदूरपश्चिम प्रदेशवासीहरूमा भूकम्पको सन्त्रास बढेको छ । मङ्गलबार राति २ः१२ बजे पूर्वीचौकी गाउँपालिका–३ डोटी गैरागाउँका छ व्यक्तिको ज्यानै लिने गरी गएको ६.६ रेक्टर स्केलको भूकम्पले दुवै प्रदेशका नागरिकको सातो उडाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बेलुका डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्जमा ९ः०७ बजे गएको ५.७ र राति २ः१२ बजे ६.६ रेक्टर स्केलको भूकम्पले डरलाग्दो झट्का दिएपछि दुवै प्रदेशका नागरिकमा सन्त्रास फैलिएको छ । भूकम्पले सुदूरपश्चिमका नौ र कर्णालीका दशै जिल्लालाई प्रभावित बनाएको छ ।
मङ्गलबार राति भूकम्पले घर हल्लिन थालेपछि यहाँका नागरिक घरबाट बाहिर खुलाचौर, सडक किनार र खेतमा जाग्राम बसेर रात बिताए । सर्लाही स्थायी घर भई वीरेन्द्रनगर सुर्खेतमा बस्दै आउनुभएका पूर्ण वर्देवाले फेरि भूकम्प आउने हो कि भन्ने त्रासले रातभर जाग्राम बसेको बताए ।हुम्लाका दीपेन्द्र भण्डारीले अलि शक्तिशाली भूकम्प आउँदा कर्णालीका माथिल्लो बस्तीमा ठूलो क्षति हुने बताए । “घर पुराना छन्, भूकम्प प्रतिरोधी भवन कतै पनि छैनन्”, भण्डारीले भने, “भूकम्पको ठूलो झट्का आउनेबित्तिकै गल्र्यामगुर्लुम ढल्ने अवस्था छ”, मङ्गलबारको भूकम्पले धेरैलाई भयभित बनाएको उनले जनाए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले कुनै पनि समयमा विनाशकारी भूकम्प जानसक्ने बताउँदै त्यसबाट बच्न नागरिकलाई सचेत भएर बस्न आग्रह गरिएको बताए । “भूकम्पले मान्छे मार्दैन बरु मान्छेले बनाएका संरचनाले ज्यान लिन्छ”, उनले भने, “त्यसैले बसेको संरचना कति बलियो छ भन्ने ध्यान राखेर पूर्वतयारी गर्न अनुरोध गरेका छौँ ।”

भूकम्पको क्षतिप्रति ओलीद्वारा दुःख व्यक्त

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार राति भूकम्पका कारण डोटीमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 
अध्यक्ष ओलीले ट््वीट गर्दै भूकम्पका कारणले डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय आठ परिवारका घर भत्केर छ जनाको निधनप्रति दुःख व्यक्त गरेका हुन् । पूर्व प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरे । 

कांग्रेसद्वारा भूकम्पमा परी निधन भएकाप्रति दुःख व्यक्त

नेपाली कांग्रेसले डोटीमा मङ्गलबार गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेसले एक विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको आत्माको चिर शान्तिका कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । कांग्रेसले घाइतेको उचित स्वास्थ्योपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ ।

भूकम्पपीडितलाई राहतको घोषणा

डोटी जिल्लाका समाजसेवी एवं नेपाली कांग्रेसका नेता पदमराज जोशीले गएराति जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पका कारण निधन भएका छ जनाको परिवारलाई रु ५० हजार राहत दिने घोषणा गरेका छन् । 
डोटीको दक्षिणी क्षेत्र विपीनगर स्थायी बसोबास भएका समाजसेवी जोशीले रासससँग कुराकानीमा भूकम्पका कारण आफ्नो जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे । 
उनले भने, “मृतकका परिवारलाई परेको शोकबाट म पनि मर्माहत भएकाले पीडित परिवारजनलाई राहत दिने घोषणा गरेको हुँ ।” भूकम्पको धक्का आफ्नो क्षेत्रमा महसुस भए पनि मानवीय क्षति नभएको र कतिपय घरमा चिरा परेको उनले बताए । 
पूर्वीचौकी गाउँपालिकामा भूकम्पका कारण भत्किएका घरमा च्यापिएर पाँच जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । सो क्षेत्रमा दर्जनजति घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । जिल्लाका धेरै परिवारको घरमा चिरा परेको छ । नेपाली सेना प्रहरी उद्धारमा खटिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार