२२ दिनमा छ पटक शक्तिशाली भूकम्पको धक्का

बुधबार, कात्तिक २३, २०७९

बझाङ । नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका छ पटकसम्म भूकम्प गएको हो । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थियो । सोही दिन तीन बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सिन्धुपाल्चोकपछि सुदूरपश्चिम प्रदेशलाई केन्द्रविन्दु बनाएर चारपटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ । कात्तिक १३ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने मङ्गलबार राति नै तीनपटक भूकम्प गएको थियो । नौ बजेर सात मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प डोटी केन्द्रविन्दु बनाएर गएको थियो भने नौ बजेर ५६ मिनेटमा ४।१ रेक्टर स्केलको सुदूरपश्चिमको खप्तडमा केन्द्र बनाएर गएको थियो । त्यसपछि लगातार सानातिना भूकम्पका धक्का महसुस भइरहे ।
मङ्गलबार मध्यराति दुई बजेर १२ मिनेटमा शक्तिशाली भूकम्प आएर डोटीमा छ जनाले ज्यान गुमाए भने पाँच जना घाइते भए । त्यस भूकम्पले सुदूरपश्चिमका पहाडी जिल्लामा सयौँ घर क्षतिग्रस्त भएको बताइएको छ ।
भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त
उपराष्ट्रपति नन्दबहादुर पुनले डोटीलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भूकम्पले घर भत्कँदा निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 
उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उपराष्ट्रपतिले भूकम्पमा परी घाइते भएकाको उपचार तथा विस्थापितका लागि उचित बसोबास र खाद्यान्न व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भूकम्पलगायत सम्भावित प्राकृतिक विपत्बाट बच्न तथा कम क्षतिका लागि पूर्वतयारीमा ध्यान दिनसमेत ध्यानाकर्षण गराउनुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार