जनयुद्धका जिउँदो सहिद हरि दहाल बागमती प्रदेशसभाका उम्मेदवार

सत्ता गठबन्धनको मतमा चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त 
बिहीबार, कात्तिक १७, २०७९

ललितपुर । दश वर्षे सशस्त्र माओवादी जनयुद्धकै सबैभन्दा विभत्स,पासविक र कालान्तरसम्म बिझाईरहने एउटा घटना हो, रामेछापको दोरम्बा हत्याकाण्ड, जुन तत्कालीन राज्य पक्षबाट सशस्त्र विद्रोही माओवादीसंग शान्तिवार्ताका लागि गरेको ‘युद्धविराम’ भन्ने शब्दलाई गिज्याउने र लत्याउने अनि  विस्मृति नहुने एउटा हत्याकाण्ड थियो ।
हुन त सशस्त्र जनयुद्धका समयमा राज्य वा विद्रोही पक्षबाट हजारौं नेपालीले ज्यान गुमाए।  कैयौंका काख रित्तिए, कतिका सिन्दुर पुछिए त कति अभिभाभकविहीन बने। यद्यपि जनयुद्ध भन्नेबित्तिकै सबैको मानसपटलमा तुरुन्त याद आईरहने भनेका चितवनको बाँदरमुडे हत्याकाण्ड र रामेछापको दोरम्बा हत्याकाण्ड हुन्।  जसमा दोरम्बा हत्याकाण्ड तत्कालीन राज्य पक्षबाट घटाइएको थियो भने बाँदरमुडे विद्रोही माओवादी पक्षबाट।

har1667462491.jpg

तत्कालीन राजा ज्ञानेन्द्रको नेतृत्वमा रहेको शाही राज्यसत्ता र डा. बाबुराम भट्टराई नेतृत्वको माओवादी वार्ताटोलीबीच २०६० सालको साउन ३२ गते दाङको हापुरेमा वार्ताको तयारी गरिएको थियो ।  वार्ताका एजेन्डा थिए, गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभालगायत । वार्ता हुने भएकाले दुवै पक्षबीच युद्धविरामको घोषणा गरिसकिएको थियो ।

त्यही युद्धविरामलाई तोड्दै रामेछापको दोरम्बामा माओवादीको ३ नम्बर इलाकाको बैठक चलिरहेका बेला मन्थलीबाट तत्कालीन शाही सेनाका मेजर राममणि पोखरेलको नेतृत्वमा आएको टोलीले २१ जना माओवादी नेता कार्यकर्ताको सामुहिक हत्या गर्‍र्यो । जुन घटनाले सरकार र विद्रोही पक्षबीच चलिरहेको वार्ता सकारात्मक रुपमा अन्त्य भई शान्ति वाहाली हुने करोडौं नेपालीको आशालाई तुहाईदियो भने वार्ता असफल भएर मुलुक पुनः लामो समयसम्म भीषण गृहयुद्धमा फर्किने आधार थप गरिदियो ।

ha1667461761.jpg

त्यही हत्याकाण्डमा भागेर आफ्नो ज्यान जोगाएका र पतिसंगै युद्धमा होमिएकी आफ्नी जीवनसंगिनी गुमाएका एक योद्धा हुन्, हरि दाहाल 'ललित'।  ललितपुरको विकट पहाडी गाउँ इकुडोलमा जन्मिएर समाज परिवर्तन र रुपान्तरणका लागि जनयुद्धमा होमिएका दाहाल उक्त हत्याकाण्ड हुँदा पार्टीको रामेछाप जिल्ला इन्चार्जको रुपमा कार्यरत थिए ।

उनै हरि दहाल 'ललित' मङ्सिर ४ को निर्वाचनमा ललितपुर १ (क) बाट बाग्मती प्रदेश सभा सदस्यको उम्मेदवार छन् । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दहाल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । जनयुद्धका जिउँदो सहिदको रुपमा परिचित दहालले हालसम्म कुनै लाभको पदमा बसेका छैनन् । उनी २०७० को दोश्रो संविधानसभा निर्वाचनका उम्मेदवार थिए । त्यतिबेला काङ्ग्रेसबाट निर्वाचित उदयसमशेर राणा अहिले गठबन्धनकै तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार छन् भने राणासँग पराजित एमालेका मधुसुदन पौडेल र हरि दहाल प्रदेशसभामा प्रतिष्पर्धी छन् । सत्ता गठबन्धन दलको साझा उम्मेदवर भएकाले आफ्नो पक्षमा चुनावी परिणाम आउनेमा दाहाल विश्वस्त छन् । 

हरि दहाल 'ललित' ले दोरम्बा हत्याकाण्ड र आफ्नी जीवनसाथी गुमाउनुपर्दाको कारुणिक क्षणलाई यसरी सम्झिएका छन् ।

२०६० सालको साउन मसान्त, बाक्लो कुहिरोका बीच झरी परिरहेकै थियो । म तत्कालीन नेकपा माओवादीको रामेछाप जिल्ला इन्चार्जको रुपमा कार्यरत थिएँ । सोही दिन शाही सरकार र माओवादी पार्टीबीच दाङको हापुरेमा वार्ता भईरहेको थियो भने वार्ता अवधिभरको  लागि युद्धविरामको सहमति दुवै पक्षबाट भएको थियो । सोही दिन दोरम्बामा हाम्रो रामेछाप ३ नम्बर इलाकाको बैठक थियो । बैठकको अध्यक्ष्यता मेरी श्रीमती अम्बिका दाहाल 'ललिका' ले गरेकी थिईन भने प्रमुख अतिथि म आफैं  थिएँ ।

उक्त  बैठकमा तत्कालीन जिल्ला पार्टी सचिव कमरेड मैनकुमार मोक्तान, जनसरकार प्रमुख बाबुराम लामा पनि उपस्थित हुनुहुन्थ्यो । सरकार र माओवादीबीच हापुरेमा वार्ता  सुरु भईसकेको र युद्धविराम घोषणा भएका कारण कुनै घटना होला भन्ने हामीलाई लागेको थिएन, त्यसकारण हामी पनि बैठकमा बसेका थियौं । हाम्रो बैठक दोरम्बाका स्थानीय शिक्षक युवराज मोक्तानको घरमा चलिरहेको थियो ।  त्यहाँ पार्टीका ३३ जना साथीहरु थियौं, जसमध्ये ११ जना बाहिर सेन्ट्रीमा हुनहुन्थ्यो भने बाँकी बैठकमै बसेका थियौँ ।

doram1667461973.jpg

मध्याह्न १२ बजेको हुँदो हो, झरी परिरहेकै थियो । बैठक चल्दै गर्दा मन्थलीबाट सेनाको टोली आएको जानकारी प्राप्त भयो । कुनै स्थानीय सुराकीको सूचनाको आधारमा तत्कालीन शाही सेनाका मेजर राममणि पोखरेलको नेतृत्वमा उक्त टोली बैठकस्थलतिर आएको थियो । सुरुमा त युद्धविराम घोषणा भएको कारण हामीलाई कुनै अप्रिय घटना होलाजस्तो लागेको थिएन । किनकि युद्धविरामको लागि दुई पक्षबीच भएको सहमति अनुसार  सेना आफ्नो ब्यारेकबाट ५ किलोमिटर भन्दा टाढा जान नपाउने र माओवादी पनि आफू बसेको ठाउँबाट ५ किलोमिटरभन्दा टाढा जान नपाउने एउटा बुँदामा उल्लेख थियो ।  

जिल्ला सदरमुकाम रहेको मन्थलीबाट हाम्रो बैठकस्थल २५ कोष टाढा थियो, हिंडेर जान २ दिन लाग्थ्यो । तसर्थ मलाई लाग्यो, युद्धविराम भएको अवस्थामा त्यति टाढादेखी आएका सेनाको नियत ठिक छैन । बैठकस्थल वरिपरि सुरक्षाका लागि हामीले साथीहरु राखे पनि कुहिरोका कारण कतै देख्न र चाल पाउन सक्ने अवस्था थिएन । उनीहरु आएका बाटो पुरै सल्लाको घारी भएको जंगल नै जंगल पर्छ । मन्थलीबाट अघिल्लो दिन हिंडेका उनीहरु त्यही बाटो भएर सुराकीको घरमा आएर बसेछन् । उक्त दिन त्यही सुराकीले हामी बैठक बसेको घर उनीहरुलाई देखाईदिएछ ।

बैठक चल्दै गर्दा अचानक सेनाले हामी बसिरहेको घर घेर्‍र्‍याे । मैले चिहाएर हेरेँ, करिब डेढ सयजति सेनाको ठूलै फौज थियो ।  बैठकमा बसेका हामी सबै उनीहरुको घेराबन्दीमा परिसकेका थियौँ । सुरुमै उनीहरुले हाम्रो सुरक्षाको लागि बाहिर बसेका साथीहरुको हत्या गरे अनि  बैठकमा सहभागी हुन आउँदै गरेका कमरेडहरु उमेश थापा मगर, रक्तिम लामा र उषा नाम गरेकी सिन्धुलीकी कमरेडलाई पनि मारे । अब के गर्ने भनेर हामी सल्लाह गर्दै गर्दा सेना त्यहीँ आइपुगे। युद्धविराम भएको अवस्थामा पनि हाम्रा साथीहरु मारिईसकेकाले अब त्यहाँबाट भाग्नुको विकल्प हामीसँग थिएन ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार