सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अध्यागमन विभागले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकको स्थलमार्गबाट नेपाल प्रवेश गर्न रोक लगाएको छ । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न सक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । स्थलमार्गबाट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकको हकमा प्रवेशाज्ञा अतिरिक्त यात्रा स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्नसक्ने छन् । यस्तै हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले यात्रा शुरु गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्नेगरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्नु पर्ने छ भने हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले यात्रा शुरु गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट पेश गरेमा नेपाल प्रवेश गर्न सक्ने छन् र प्रवेश गरेपछि १० दिन अनिवार्य रूपमा होटल वा होम क्वारेन्टिनमा बस्नुपर्नेछ । विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति दिइने छैन । यसअघि स्वदेश प्रवेश गरिसकेका विदेशी नागरिकले हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान अनुमति दिइने विभागले जनाएको छ ।–रासस