सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोरोनाभाइरस महामारी शुरू भएदेखि नै सभा, जुलुस अथवा भिडभाड हुने गतिविधि नगर्न स्थानीय प्रशासनहरूले निरन्तर आग्रह गर्दै आएका छन् । तर प्रशासनको यस्तो आग्रहलाई नागरिकहरुले वेवास्था गर्ने गरिरहेका छन् । बुधबारमात्रै पश्चिम नेपालको तनहुँ जिल्लामा स्थानीय प्रशासनले गरेको निषेधाज्ञा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तथा उनका कार्यकर्ताले उल्लंघन गरेको आरोपमा प्रशासनले पौडेललाई तीन घण्टा नियन्त्रणमा लिएर साँझ छाड्यो । पुल उद्घाटनको विषयमा नेपाली कांग्रेस र सत्तारुढ दलको भातृ संस्था युवा संघका कार्यकर्ताबीचको विवादका कारण तनहुँ जिल्ला प्रशासन कार्यालयले व्यास नगरपालिकाको गल्बु क्षेत्रमा बुधबार निषेधाज्ञा जारी गरेको थियो । आज बुल्दी खोलमा निर्माण भएको पक्की पुलको भीड भाडकै माझ कांग्रेस बरिष्ठ नेता पौडेलले उद्घाटन गरेका छन् । काठमाडौ. जिल्ला प्रशासन कार्यालयले राजावादीले सभा र जुलुसलगायतका गतिविधिहरू गरेपछि यस्ता सभा जुलुस नगर्न मंगलवार पुनः अनुरोध गरेको थियो । ‘पछिल्लो समय जुलुसहरू पनि अलि बढ्ता नै देखिएको हुनाले कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी त्यस्ता गतिविधि नगर्न हामीले सूचना जारी गरेका हौँ’, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने । तर कोरोनाभाइरस महामारीको समयमा देशका विभिन्न ठाउँमा सभा, जुलुस र ठूला प्रदर्शनहरू रोकिएको छैन । त्यस्ता कतिपय सभा अथवा कार्यक्रममा प्रधानमन्त्रीदेखि मन्त्री र पूर्वप्रधानमन्त्रीसम्म उपस्थिति हुने गरेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र कतिपय नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने आवाज उठाइरहँदा गत असारमा प्रधामन्त्रीको समर्थनमा देशका विभिन्न जिल्लामा प्रदर्शनहरू भएका थिए । त्यतिबेला केही प्रमुख जिल्ला अधिकारीसमक्ष जिज्ञासा राख्दा अनुमतिविनै ती प्रदर्शनहरू गरिएको उनीहरूले बताएका थिए । स्थानीय प्रशासनबाट अनुमति नलिने क्रम अहिले पनि नरोकिएको उनीहरू बताउँछन् । कोरोनाभाइरस महामारीबीच केही आयोजनाको अवलोकनका क्रममा तीन साताअघि संखुवासभा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ एउटा ठूलै जमघटलाई सम्बोधन गरे । हालै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ठूलो संख्यामा कार्यकर्ताहरूको उपस्थितिबीच तराईका केही जिल्लामा पार्टीका कार्यक्रममा सहभागी भए । त्यसको केही समयपछि आफूलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनले ट्वीटरमार्फत् जानकारी गराएका थिए । यसबीचमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि पार्टी प्रवेश कार्यक्रम गरेको उदाहरण छ । केही दिनयता राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा देशका प्रमुख शहरमा प्रदर्शनहरू भइरहेका छन् ।
किन प्रशासनलाई टेर्दैनन् ? ऐन र कानुनलाई नमान्ने, स्थानीय प्रशासनहरूका आदेश वा अनुरोधलाई नटेर्ने प्रवृत्ति मौलाउनुमा ती कानुन बनाएर त्यसको पालना नगर्ने व्यक्तिहरू नै जिम्मेवार रहेको जानकारहरू औँल्याउँछन् । पूर्वगृहसचिव श्रीकान्त रेग्मी मुलुकमा ‘सानालाई ऐन र ठूलालाई चैन’को अवस्था रहेको बताउँछन् । ‘समाजमा हुनेखाने, सबल र शक्तिशालीहरूले ऐनकानुन मिच्नुलाई पुरुषार्थ ठान्छन् । त्यो कारणले हामी कहाँ ठूलाबडा नजिकका मानिसहरूले पनि ऐनकानुन मिच्ने प्रवृत्ति बढेर गएको हो’,उनले थपे । राज्य चलाउने शक्तिशाली व्यक्तिहरू ठूला अधिकारीहरू नै विद्यमान ऐन र कानून अनुसार नचल्ने हो भने अरू मानिसका लागि त्यस्तो गर्न उदाहरण हुने अर्का पूर्वगृहसचिव सूर्य सिलवालको ठम्याइ छ । ‘ठूल्ठूला पदाधिकारीहरूले नै त त्यस्तो गरेपछि अरूले किन नगर्ने भन्ने खालको हामीकहाँ वातावरण बन्यो । अरूका लागि त्यो नजिर बन्यो’ उनले भने
प्रशासन किन निरीह ? सत्ताभित्र अथवा बाहिरबाट हुने हस्तक्षेपको वास्ता नगरी कानुनले दिएका अधिकारको स्वतन्त्र रूपमा प्रयोग गर्न सके मात्रै स्थानीय प्रशासनहरूको काम प्रभावकारी हुन सक्ने विज्ञहरूको तर्क छ । हाम्रा प्रशासनहरू पूर्ण रूपमा व्यावसायिक हुनै बाँकी रहेको रेग्मी बताउँछन् । उनी थप्छन्, ‘प्रशासनले सत्तासँग नभई कानुनसँग सरोकार राख्नुपर्ने हो । तर सत्तासीनहरूको निर्देशन पर्खेर कामकारबाही गर्ने प्रवृत्ति रहेकोले विद्यमान कानुनको प्रभावकारी र दृढतापूर्वक कार्यान्वयन गर्ने आँट उनीहरूमा नभएको हो ।’ अधिकारसम्पन्न व्यक्तिहरू स्वयम् उदाहरण बन्दै जाने हो भन्ने अरूले पनि त्यसलाई पछ्याउँदै जाने सिलवालको तर्क छ । सिलवाल प्रश्न गर्छन्, ‘अधिकार जहाँबाट प्राप्त हुन्छ त्यहाँका अधिकारसम्पन्न व्यक्तिहरू नै ऐन र कानुन मान्दैनन् भने त्यो ठाउँबाट अधिकार पाउने तलका निकायले के गर्न सक्छन् ?’
सभा र जुलुस कति खतरनाक ? कोरोनाभाइरस महामारीका बेला पनि विभिन्न नाममा हुँदै आएका सभा र जुलुसहरू संक्रमण फैलने दृष्टिकोणले निकै हानिकारक भएको जनस्वास्थ्यविद्हरू बताउँछन् । त्यस्ता सभा र जुलुसमा जनस्वास्थ्यका मापदण्डहरूको खासै पालना नहुने गरेकाले ती कार्यक्रमहरू ठूलो स्तरमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने उनीहरूको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘यदि सभा र जुलुसमा सङ्क्रमितहरू पनि सहभागी छन् भने तिनले थप मान्छेलाई सङ्क्रमित बनाउँछन् ।’ ‘अमेरिकामा चुनावपछि संक्रमितको संख्या निकै बढ्यो । त्यो नै यसको एउटा ज्वलन्त उदाहरण हो’ उनले भने ।