आधुनिक उपकरणले कृषिकार्य सहज

बिहीबार, कात्तिक ३, २०७९

दोधारा चाँदनी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृतिमान डगौँरालाई पहिला खेतीपाती गर्दा धेरै समय र व्यतित गर्नुपथ्र्यो तर अहिले आधुनिक उपकरण आएपछि उनलाई सहज भएको छ । “अहिले त मेसिनको सहायताले एक बिघा जग्गाको धान एक दिनमा काट्न सकिन्छ ।” डगौराले भने, “कृषि कार्य गर्न आधुनिक उपकरण आएपछि पैसा र समयको बचत भएको छ ।” परम्परागत हल गोरुबाट खेतीपाती गर्दै आएका उनले मजदूरको अभाव हुनाका साथै  समय र मेहनत धेरै लाग्ने गरेको बताउछन् । अहिले यहाँका किसानले खेतबारी जोताउन पावर टिलर, हाते ट्र्याक्टर, धान रोपाइँ गर्नेदेखि बाली भित्र्याउनसमेत कृषि उपकरणकै प्रयोग गर्न थालेका छन्  । “उतिबेला मजदूर खोजेर धान कटाउन महिनौँ लाग्थ्यो अहिले त्यस्तो छैन ।” डगौराले विगत सम्झिँदै भन्छन्,“त्यो बेलाको कडा मेहनत हेर्दा त अहिले खेतीपाती गर्न निकै सहज भएको छ ।”
    
उपकरण भएपछि शरीरलाई पनि थकान महसुस नहुने र एक घण्टामै धान गहुँ सबै काट्नसक्ने अर्का किसान रामलाल चौधरीले बताए । “अहिले त जमाना कहाँ पुगिसक्यो पहिला बिहानदेखि बेलुकीसम्म खेतमा काम गर्नुपथ्यो”, उनले भने–“विगतमा सबैको घरमा हलगोरु हुन्थे अहिले सबैको घर–घरमा खेत जोत्ने, धान काट्ने मेसिन छन् ।”     

“मेसिन आएपछि त मजदूर लगाउनु परेन गोरु पाल्नु परेन फाइदै फाइदा छ नि”, चौधरीले भने–“आधुनिक यन्त्र गाउँ पुगेपछि हामीलाई निकै सहज भएको छ ।” सरकारले पनि कृषिमा आधुनिकीकरण गर्ने लक्ष्य अनुरुप प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत किसानलाई कृषि कार्यका लागि आधुनिक उपकरण अनुदानमा दिने गरिएको छ ।     

कृषि कार्यमा यन्त्रउपकरणको प्रयोगले उत्पादन  पनि बढेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत हरिदत्त जोशीले बताए । “मेसिनको प्रयोगले खनजोत गर्दा माटो खुकुलो हुने, मलखाद मिसिने, जमिन बराबर गरेर जोतिने भएकाले तत्पादन वृद्धि हुन्छ ।” उनले भने–“अर्को फाइदा मजदूरको लागत घट्ने र समयको बचत हुने भयो ।” अधिकृत जोशीले पछिल्लो समय कृषि कार्यमा ९५ प्रतिशत यन्त्रउपकरण प्रयोग हुने गरेको जानकारी दिए । 

मुख्यमन्त्री कृषि कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत किसानको माग अनुसार पावर टिलर लगायतका कृषियन्त्र अनुदानमा किसानलाई उपलब्ध हुँदै आएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार