फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ 

बिहीबार, कात्तिक ३, २०७९

घोराही । जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गर्नुभएका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् । 
घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गरेका हुन् । उनीहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरूको भनाइ छ । 
माला बनाएर कोल्डस्टोरमा राखिने उहाँहरूको भनाइ छ । जिल्लामा मात्र नभई जिल्ला बाहिरबाटसमेत फूलको माग आउने गरेको घोराही उपमहानगरपालिका–१४, झिगौरामा जलजला पुष्पखेती फार्मका सञ्चालक लोकेन्द्रले बताए । बाहिर माग भए पनि पहिलो प्राथमिकता जिल्लामा नै दिने गरिएको उनी बताउँछन् । 
“जिल्लालाई प्राथमिकता दिएको हुनाले माग भए पनि बाहिर पठाउने गरिएको छैन”, उनले भने । उनले डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताए । उनले झिगौरासँगै सुनपुरमा पनि फूलखेती गरेका छन् । उनले विगतका वर्षदेखि फूलखेती गर्दै आएका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका लोकेन्द्रले जिल्लामा दसैंँ तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका छन् । 
“दाङमा व्यावसायिकरूपमा फूलखेती कतै थिएन, काठमाडौँंतिर फूलखेती पनि व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले गरेको हुँ”, रोकाले भने । रोकाले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक खेतीगर्दै आएका छन् । 
घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको कुनै समस्या नभएको रोका बताउँछन् । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाटसमेत फूलको माग हुने गरेको छ । “काठमाडौँंबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, उनले भने । अहिले उनले एउटा मालालाई रु एक सयमा बिक्री गर्दै आएको बताए ।
पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रैमहिना फूल उत्पादन सुरु गरेको बताए । वर्षाको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको उनको भनाइ छ । अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएका छन् । आफूसँगै परिवार तथा अन्य दुई जनालाईसमेत रोजगारी प्रदान गरेको उनको भनाइ छ । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ ।
जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत उनको आग्रह छ । पछिल्लो समय सरकारी निकायबाटसमेत सहयोग प्राप्त गर्न सफल भएको उनले बताए । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिकरूपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत छ वर्ष पहिलेदेखि व्यावसायिकरूपमा फूल खेती गर्दै आएका छन् । उनले पनि अहिले फूले टिपेर माला बनाउन थालेका छन् । तिहारको लागि मागसमेत हुन थालेको उनको भनाइ छ ।
“माग हुन थालेसँगै फूल टिपेर माला बनाउन सुरु गरेका छौँ”, उनले भने । माला बनाएर कोल्ड स्टोरमा राखिने उनले बताए । उनका अनुसार उत्पादन भएको फूलको धेरै खपत जिल्लामा नै हुने गरेको छ । माला रु एक सयदेखि तीन सयसम्म बिक्री गर्ने गरेको उनको भनाइ छ । मालाका डिजाइनअनुसार मूल्य बढी हुने गरेको छ । जिल्लामै व्यावसायिकरूपमा फूल खेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनी बताउँछन् । 
अहिले आठ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिकरूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको उनले बताए । चाडपर्वसँगै पछिल्लो समय जिल्लामा हुने औपचारिक कार्यक्रममासमेत हजारीको फूलको मालाको माग बढ्दै गएको उनी बताउँछन् । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ०५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार