सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सहरीकरण तीव्र भए पनि सहरबस्ती समावेशी विकास हुन नसकेकाले सरोकार भएका निकायको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिइएको छ । विश्व बसोबास दिवसका अवसरमा सहरी विकास मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले पूर्वाधार भएपछि सहर बन्ने मान्यतालाई आधार बनाउँदा सहरी क्षेत्रमा समावेशी विकास हुन नसकेको गुनासो गरेका छन् । सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले जनसङ्ख्या मात्र हेरेर सहर घोषणा गर्ने गरिएकाले विकासका अन्य आयाममा ध्यान जान नसकेको बताउनुभयो । जनसङ्ख्यामात्र हेरेर नगरपालिका घोषणा गर्दा हाल सहरी क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या ६६.०८ प्रतिशत पुगिसकेको छ । गाउँ र सहरलाई समन्वय गरेर विकास गरिनुपर्ने उहाँको भनाइ थियो । मन्त्रालयले एक सय ८५ नगरपालिकाको विस्तृत सहरी विकास योजना बनाइसकेको छ । राष्ट्रिय सहरी नीति छिटो ल्याउने गरी तयारी गरिएको सचिव सिंहले कार्यक्रममा जानकारी दिए । दिवसको यस वर्षको नारालाई पनि नीतिमा समेटिने उनको प्रतिबद्धता छ । ‘समावेशी सहरबस्तीको आवश्यकता ः सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोबास दिवस, २०७९ विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकराणका विकास आयुक्त जानुका ढकालले उपत्यकाका चार कुनामा बनाइने सहरलाई समावेशीरूपमा विकास गरिने बताए । उपत्यकाका खोला किनारमा अझै सुकुम्वासी बस्ती रहेको उल्लेख गर्दै उनले त्यसलाई व्यवस्थित गर्न पनि काम भइरहेको सुनाए । नेपाल नगरपालिका सङ्घका महासचिव भीमप्रसाद ढुङ्गानाले सरकारले स्मार्ट सिटी घोषणा गर्ने तर काम नगर्ने गरेकाले सहरी विकास हुन नसकेको बताए । दुई सय ९३ नगरपालिकामा कुन–कुन नमूना छन् भनेर मन्त्रालय अनुगमनसमेत नगर्ने गरेको उहाँको गुनासो थियो । फोहर व्यवस्थापनमा देशभरका नगरपालिकामा समस्या रहेकाले त्यसको समाधानका लागि मन्त्रालय सहयोग गर्नुपर्ने नगरप्रमुख ढुङ्गानाको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सहसचिवहरू रामचन्द्र दङ्गाल र पद्कुमार मैनाली, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ, युएन ह्याविट्याट एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक ब्रुनो डेरकन, विभागका पूर्व सहसचिव सरिता मास्के, विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरलगायतले सहरलालाई समावेशीरूपमा विकास गर्न सरोकार भएका निकायले एकीकृतरूपमा काम गनुपर्नेमा जोड दिएका थिए । संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याविट्याट)को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापीरूपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो । नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइन्छ । अक्टोबरको पहिलो सोमबार बडादसैँको महाअष्टमी परेकाले तेस्रो सोमबार आज दिवस मनाइएको हो । दिगो विकास लक्ष्यको लक्ष्य एक दशमलव एकले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ । दिवसका अवसरमा आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको उन जानकारी दिए ।
कार्यक्रममा व्यवस्थित सहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी गर्ने कार्यक्रम गरिएको छ । कार्यक्रममा विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, इञ्जीनियरिङ अध्ययन संस्थान, हेटौँडा उपमहानगर, धुलिखेल, कागेश्वरी मनोहरा, नीलकण्ठ नगरपािलकाका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको छ । यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याविट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गरेका छन् ।