पहिरोमा परी ९० भेडा बेपत्ता 

सोमबार, असोज ३१, २०७९

कर्णाली । तिला गाउँपालिका–६ जुम्लाको भादना पाटनमा पर्ने पिच्छोर्नी खोलामा आएको पहिरोमा परी ९० भेडा बेपत्ता भएका छन् । खोला तार्ने क्रममा आएको बाढीसहितको पहिरोले उक्त गाउँपालिका–७ निवासी शेरबहादुर रोकायको ३२, लालबहादुर रोकायको ३२, खम्बिलाल रोकायको १२ र वडा नं ६ घोडे निवासी नरेन्द्र रोकायको १४ भेडा गरी ९० भेडा र एक कुकुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । 
घटना चार दिनअघि भए पनि सदरमुकामबाट करिब ५० किलोमिटर टाढा भएकोले जानकारी पाउने बित्तिकै प्रहरी चौकी रारालिही जुम्लाबाट प्रहरी टोली पठाइएको उनले बताए । 
सूचना अधिकारी जोशीका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा पहिरो गएको स्थानदेखि २०–२५ मिटर तल खोला किनारमा १५ वटा भेडा बाख्रा मृत अवस्थामा फेला परेका थिए । अन्य भेडा र एक कुुकुर बेपत्ता भएकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

नगद सहायता पाएपछि बाढी प्रभावित खुसी

कैलालीको टीकापुर नगरपालिका–७ प्रतीपुरका  दिलबहादुर दमाइँको अनुहारमा खुसी देखिएको छ । बाढीका कारण घरमा भएको अन्नपात तथा लगाएको धानबालीमा क्षति भए पनि उहाँमा त्यस्तो निराशा थिएन । विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले बाढीको जोखिममा रहेका परिवारलाई नगद सहायता लिएर बैंकबाट आएका दिलबहादुर केही दिनका लागि भए पनि परिवारको भोको पेट भर्न सकिने भएपछि खुसी भएको बताउँछन् । 
“गत वर्षको जस्तो क्षति यसवर्ष भएको तर पनि नगद राहतले घरको जोहो टार्न केही दिनका लागि सहज हुने भएको छ ।”, दिलबहादुरले भने, “सबै गुमाउँदा पनि केही नपाएका हामीलाई अहिलेको राहतले ठूलो सहायता मिलेको छ ।” 
सोही वडाको डिबिपुरका पतिराम चौधरीको ११ जनाको परिवार छ । कृषि कर्म गरेर जीविकोपार्जन गर्दै आउनुभएका पतिरामको अधिकांश अन्नबालीमा कर्णाली नदीको बाढी र डुवानले क्षति पु¥यायो । पाकेर भित्र्याउने अवस्थामा रहेको धानबाली डुबानमा परेपछि उनलाई गत वर्ष कात्तिक १ गतेको झल्को दियो । गतवर्ष कात्तिकमा गएको बाढीमा उनको सबै धान नष्ट भएको थियो ।
केही महिना पहिले गाउँमा कसैले घरको तथ्याङ्क लिएको समेत पतिराम भुलिसक्नु भएको थियो । गाउँमा चिरागीले बाढी प्रभावितलाई नगद सहायता प्रदान गर्ने खबर गरेपछि आफूले ठूलो राहतको महसुस गरेको पतिराम बताउँछन् । “गतवर्ष त्यत्रो क्षति हुँदा कतैबाट केही सहयोग भएन । यसपटक पनि कतैबाट सहयोग हुँदैन भन्नेमा ढुक्क भएर बसेको थिएँ ।” 
पतिरामले भने, “बाढी विस्थापितलाई पन्ध्र हजार सहायता पाउने थाहा भएपछि मनले शान्तिको सास फेरे । केही महिना परिवारलाई खानको लागि भौतारिनुपर्ने अवस्था नआउने भयो भनेर ।” 
जुगरानी चौधरी टीकापुर नगरपालिका–१ को गणेशपुर शिविरमा बस्दै आउनुभएको छ । आठ जनाको परिवार ज्याला मजदुरी गरेर दैनिकी चलाउने जुगरानीको कुनै खेतिपाती छैन । खेतीपाती गर्नलाई नत जग्गा नै । असोज २३ गतेको बाढीका कारण माटोले पोतेको कच्ची घरका भित्ता भत्काउनुका साथै घरमा भएको अन्नपात समेतमा क्षति पुगेपछि निराश भएकी जगरानीलाई पनि नगत सहायताले घरको चुलो बाल्न सहज हुने भएको छ ।
“कतैबाट राहत पाइन्छ कि भन्ने आशामा बसेका थियौँं, नभन्दै केही महिनासम्मका लागि पुग्ने गरी सहयोग मिल्यो ।” जुगरानीले भने, “हामी पैसा नहुनेका लागि र दैनिक कमाएर जोहो चलाउनेका लागि १५ हजारले ठूलो सहयोग गरेको छ ।” उता शोभा नेपालीले चाडपर्वको समयमा पैसा नभएकै कारण राम्रोसँग मनाउन नसकिएको दःुखेसो गर्दै तिहारलाई राम्रोसँग मनाउने सोच भएको बताउनुभयो । “बाढी र डुबान हाम्रा लागि बर्सेनिको समस्या हो । यो समस्याबाट छुटकारा पाइएला जस्तो पनि लाग्दैन ।” शोभाले भनिन्, “समस्या बर्सेनिको उस्तै । यसपटक समयमा सहयोग मिलेको छ । दसँै त्यति राम्रो भएन, अब यसै पैसाले तिहारलाई राम्रो बनाउने र मीठो मसिनो खाने योजना बनाएकी छु ।” 
यद्यपी बाढी पीडितले राहत नपाएको भन्दै दुःखेसो पनि गरेका छन् । नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर विक आफ्नै आसपासका छिमेकिले राहत पाए पनि आफूले नपाएको गुनासो गरेका छन् । उनले बाढीका कारण क्षति बराबर हुँदा पनि कसैले पाउने कसैले नपाउने हुँदा आफूहरूलाई दुःख लागेको बताए । “अर्को पटक वितरण हुने राहतमा हाम्रो नाम पर्ला भन्नेमा विश्वस्त छौँ । आशा छ सबै प्रभावितलाई समान दृष्टिकोणले हेरिनेछ ।” 
बलबहादुरले भने, “बाढीले अरुलाई जति समस्यामा पारेको छ, त्यति हामीलाई पनि पारेको छ । त्यसैले सबैलाई गर्ने व्यवहार समान होस् भन्ने हो ।”
पूर्वानुमानमा आधारित सूचनाअनुसार गत वर्षको बाढीपछि अर्थात् तीन महिना पहिले सङ्कलन भएको तथ्याङ्कका आधारमा प्रभावित क्षेत्रका नागरिकलाई प्रतिपरिवार रु १५ हजारका दरले नगद सहायता गरिएको छ । विश्व खाद्य कार्यक्रमअन्तर्गत टीकापुरका दुई हजार नौ सय १६ र जानकीका एक हजार दुई सय परिवारलाई नगद सहयोग प्रतिपरिवार रु १५ हजारका दरले वितरण भइरहेको नेपाल रेडक्रस कैलालीका हेमराज उप्रेतीले जानकारी दिएका छन् । 
प्रभावित क्षेत्रका नागरिकको खातामा नगद सहायता पठाउने काम भइरहेको छ । उनीहरूको नाममा रकम गएको छ । रकम झिक्नका लागि सहायता कक्ष बनाएर सिफारिस दिने काम भइरहेको छ । नगद सहायता अहिले ८० प्रतिशत प्रभावितले पाउने र बाँकी २० प्रतिशतले एक महिनाभित्र पाउनेछन् ।
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार