सोसल मिडिया
Contact Us
युनिकोड
कास्की । बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो । विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर उनले जिल्लास्तरीय प्रतियोगिता खेल्न सुरु गरिन् । जिल्लामा राम्रो गरेपछि उनी विभागीय टोलीको नजरमा परिन् । नेपाली सेनामा आबद्ध भएपछि चौधरीलाई खेलका लागि अझ राम्रो वातावरण मिल्यो । विभागीय टोलीमा रहेर खेलकुदमा केन्द्रित भएर लागिरहँदा चौधरीको खेल जीवनमा आज ठूलो सफलता मिलेको छ ।
पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला १०० मिटर दौडमा यसअघिको कीर्तिमान तोड्दै सरस्वतीले स्वर्ण पदक जितेपछि उनी असाध्यै खुशी छिन् । सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदा उनको खेल जीवनमा उत्साह थपिएको छ । यसअघि हिटमा लुम्बिनी प्रदेशका निशा चौधरीले १२ दशमलव १५ सेकेण्डको कीर्तिमानलाई फाइनलमा सरस्वतीले तोडिन् । निशाले निर्धारित दूरी पूरा गर्न १२ दशमलव २२ सेकेण्डको समय लगाएकी थिइन् । यसअघि देवीमाया पनेरुको नाममा रहेको १२ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान निशाले १२ दशमलव १५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन् । यसअघि दाङमा भएको आठौँ राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण पदक हासिल गरेकी थिइन् । त्यसबेला उनले १२ दशमलव १९ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । आठौँदेखि नै उनको मनमा नयाँ कीर्तिमान कायम गर्नुपर्दछ भन्ने लागिरह्यो तर उनी ठ्याक्कै आजै रेकर्ड राख्छु भन्ने चाहिँ नसोचेको बताउछिन् । उनले भनिन्, “जिल्लास्तरीय खेल्दादेखि नै सबैले तिमीले राम्रो गर्छौ, भन्नुहुन्थ्यो, आफूलाई कमजोर सोचेको थिइनँ । राष्ट्रिय कीर्तिमानको सपना बोकेर नै प्रतियोगिता खेल्न आएको हुँ । सक्छु कि सक्दिन भनेर मनमा लागिरहन्थ्यो । कीर्तिमान बनाउँदा अहिले असाध्यै खुशी छु ।” चौधरी आफ्नो खेल जीवनको सफलतामा धेरै गुरुको साथ रहेको बताउँछिन् । कीर्तिमान राख्नका लागि ठूलो मेहनत गरेको भन्दै उनले यसलाई कायमै राख्न थप मेहनत गर्ने बताइन् । “जिल्लास्तरीय प्रतियोगितामा विद्यालयबाट विक्रमचन्द्र गुरुले ल्याएका हुन् । पछि आर्मीमा जोइन भएपछि त्यहाँ खेलको राम्रो वातावरण बन्यो, पछि ओलम्पिकसमेत खेलेँ”, चौधरीले भनिन् । उहाँ विसं २०७४ देखि विभागीय टोली नेपाली सेनामा आबद्ध छिन् । यसैगरी पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरीको एपिएफका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । उनले निर्धारित दौड १० दशमलव ५६ सेकेण्डमा पूरा गरे । पार्कीले यसअघि सन् १९९९ मा रामकृष्ण चौधरीले १० दशमलव ७१ सेकेण्डको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । एथलेलिक्टमा एकैदिन सात स्वर्ण पदकको छिनोफानो भएको छ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आजदेखि पोखरामा थप विभिन्न १२ खेल भएका छन् । असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु भएका हुन् । प्रतियोगिताअन्तर्गतका केही खेल असोज २३ देखि नै सुरु भएका थिए । अधिकांश प्रदेशका आठ जिल्लामा खेल भइरहेका छन् । आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
एथ्लेटिक्समा सात स्वर्ण पदकको छिनोपानो
एथ्लेटिक्स बिधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न खेलअन्र्गत एक हजार पाँच सय मिटर दौडको पुरुषतर्फ मुकेश पाल र महिलामा फुलमती रानाले स्वर्ण पदक जितेका छन् ।
त्रिभुवन आर्मी क्लबका मुकेशले तीन मिनेट ५२ दशमलव २१ सेकेन्ड समय खर्चदै स्वर्ण पदक जितेका हुन । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)का अजित यादव र नागेश्वर अहिर क्रमश ः दोस्रो र तेस्रो भए । अजितले तीन मिनेट ५३ दशमलव ११ सेकेन्ड समय लगाउँदै दोस्रो भए भने नागेश्वरले तीन मिनेट ५६ दशमलव पाँच सेकेन्ड समय खर्चदै तेस्रो भए । सोही स्पर्धाको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) की फुलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जित्न सफल भइन् । फुलमतीले चार मिनेट ३८ दशमलव १९ सेकेन्ड समय लगाउँदै पहिलो बनेकी हुन । रजत पदक विजेता सरस्वतीले चार मिनेट ४१ दशमलव ८० सेकेन्ड समय लगाइन् । सोही स्पर्धामा त्रिभुन आर्मी क्लबकी रेखा लिम्बूले कास्य पदक हात पारिन । उनले पाँच मिनेट ०३ दशमलव ८० सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहेकी हुन् । त्यसैगरी आजै भएको सटपुटतर्फ तिलक विक र चन्द्रकला लामगादेले स्वर्ण जिते । त्रिभुवन आर्मी क्लबका तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन । सोही स्पर्धामा वलीले रजत पदक जित्दा बागमती प्रदेशका ललित रावतले कास्य पदकमा चित्त बुझाए ।
यसैगरी एक सय मिटर दौडको पुरुषतर्फ शिवराज पार्की र महिलामा सरस्वती चौधरीले स्वर्ण जिते । सशस्त्र प्रहरी बलका शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई पछि पार्दै स्वर्ण जितेका हुन् । स्वर्ण विजेता शिवराजले निर्धारित दूरी १० दशमलव ५९ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा आर्मीका युवराजले १० दशमलव ५८ सेकेन्ड समय लगाउँदै रजत पदक जिते भने त्रिभुवन आर्मी क्लबका डिल्ली भण्डारीले कास्य पदक जिते । उनले १० दशमलव ७० सेकेन्ड समय लगाए । सोही स्पर्धाको महिला विधामा स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन । उनले निर्धारित दूरी १२ दशमलव १३ सेकेन्डमा पूरा गरिन । सरस्वतीले स्वर्ण पदकसहित राष्टिय कीर्तिमानसमेत कायम गरेकी छन् । उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । निशाले हिट चरणमा १२ दशमलव १५ सेकेन्ड समय लगाएकी थिइन । सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रमिता थारुले कास्य जितिन् । रमिताले निर्धारित दूरी १२ दशमलव ९३ सेकेन्ड समय खर्चेकी थिइन् । त्यस्तै दश हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी थिइन् ।