दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल

शनिबार, असोज २९, २०७९
Global Ime Bank

काठमाडाैँ प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ । 
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्ति प्राप्त हुन सक्दछन् । मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न, यस्ता अभिव्यक्तिलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनतर्फ सञ्चारमाध्यम सदैव सजग हुनुपर्दछ ।’

‘समाजलाई मार्गप्रशस्त गराउने विशिष्ट भूमिकामा रहेको पत्रकारजगत्बाट नै कुनै दल विशेष वा उम्मेदवारलाई मतआह्वान गर्ने, राजनीतिक दल एवं उम्मेदवारको प्रचारप्रसारलाई प्रश्रय दिंँदै शेयर र कमेन्ट गर्ने एवं स्टाटस लेख्ने, अपिल गर्ने, सामाजिक सञ्जालसमेतबाट पक्ष विपक्षमा कुनै सन्देश, सूचना प्रवाह गर्ने कार्य पत्रकारिताको व्यावसायिक मर्यादा एवं पत्रकार आचारसंहिताविपरीत हुने हुँदा सञ्चारमाध्यम, पत्रकार एवं पत्रकारितासँग सम्बन्धित संस्थाबाट यसप्रकारका गतिविधि नगर्न÷नगराउन अपिल गरिन्छ’, प्रेस विज्ञप्तिमा भनिएको छ । 
यस्तो कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्ने हुँदा यस्तो कार्य नगर्न÷नगराउन र मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्री प्राथमिकतासाथ सम्प्रेषण गर्न पनि प्रेस काउन्सिल नेपालले सम्बन्धित सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । यस्तै कुनै सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा वा सञ्चारमाध्यम तथा पत्रकारले पत्रकार आचारसंहिताविपरीत कार्य गरिरहेको पाइएमा वा कुनै जनगुनासो भएमा काउन्सिलमा सम्पर्क गर्ने, उजुरी दिने व्यवस्था रहेको र आचारसंहिता पालना भए÷नभएको विषयमा सूक्ष्मरूपमा अनुगमन भइरहेको विज्ञप्तिमा उल्लेख छ । 

पत्रकार आचारसंहिताको नियमित अनुगमनबारे काउन्सिललाई आयोगको पत्राचार

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७९ र पत्रकार आचारसंहिता २०७३ अनुरुप भए÷नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको छ ।
आयोगको आजको बैठकले सञ्चारमाध्यमको अनुगमनको  क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, आमसंचारसम्बन्धी अन्तरराष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता २०७३ अनुरुप भए÷नभएको नियमित अनुगमन गर्नेबारे सो निर्णय गरेको हो ।
सो निर्णयमा पत्रकार आचारसंहिता, २०७३ को दफा ९ (१) मा रहेको काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताको अनुकूल हुने गरी प्रत्येक सञ्चारमाध्यमले आफ्ना लागि आचारसंहिता बनाई सोको स्वनियमन र स्वमूल्याङ्कन गर्ने छन् भन्ने व्यवस्था बमोजिम सञ्चारमाध्यम तथा सञ्चारकर्मीले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणको पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमनसम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमलाई आह्वान गर्ने र सोको लागि आवश्यक व्यवस्था गर्न गराउन पनि काउन्सिललाई लेखी पठाउने  निर्णय गरेको छ ।
यस्तै आयोगले पत्रकार आचारसंहिताको दफा १२ मा काउन्सिलले निर्वाचनका क्रममा पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गर्न सक्ने प्रावधान रहेकोले सोअनुसार प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गरी सोको एक प्रति आयोगमा उपलब्ध गराउन काउन्सिललाई आग्रह गरेको छ । निर्वाचन आयोग ऐनबमोजिम जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयन गर्न सोही ऐनको दफा २३ बमोजिम आयोगले विज्ञसमेत रहेको संयन्त्र निर्माण गर्न सक्ने प्रावधान छ । सो व्यवस्था बमोजिम आयोगले निर्माण गर्ने संयन्त्रले आन्तरिक प्रयोजनका लागि सञ्चारमाध्यममा प्रकाशित तथा सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति जाँचबुझ तथा अनुगमन गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा आयोगले प्रचलित कानून बमोजिम गर्न गराउन लेखी पठाए बमोजिम आवश्यक कारवाही गरी सोको जानकारी आयोगमा गराई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र एवम् विश्वसनीय तुल्याउने आयोगको प्रयासमा सहयोग गर्न ऐन बमोजिम काउन्सिललाई निर्देशन दिएको छ ।

आचारसंहिता अनुगमन गर्न अनुसन्धान विभागलाई दिएकोप्रति महासङ्घको असहमति 

नेपाल पत्रकार महासङ्घले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति असहमति जनाएको छ । महासङ्घले निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए–नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति असहमति जनाएको हो । 
आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ । “नेपाली सञ्चारजगत्ले स्वनियमनको सिद्धान्तअनुसार सञ्चार क्षेत्र आफैँले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौँ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 
यसैगरी आयोगले चुनाव प्रचार÷प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरिएकामा पनि महासङ्घको ध्यानाकर्षण भएको छ । महासङ्घले लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने जनाउँदै संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक हुने जनाएको छ । महासङ्घले तत्काल सच्याएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार÷प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार