दीपावलीको स्वागतमा लागे वृद्धवृद्धा

बिहीबार, असोज २७, २०७९

काठमाडौँ । नेपालीको महान् पर्व दसैँपछिको अर्काे चाड तिहार नजिकिँदै गर्दा तारकेश्वर नगरपालिका–७ फुटुङमा पर्ने नवजीवन परोपकार समाज (आश्रम) नजिकै रहेको बाँझो बारीमा वृद्धवृद्धाले रोपेको सयपत्री फूल ढकमक्क फुल्न थालेको छ ।

तिहारलाई लक्षित गरी ‘परनिर्भरता हटाऔँ आत्मनिर्भर बनौँ’भन्ने अभियानका साथ फूलको बीउ थाइल्याण्डबाट मगाएर राखिएको हो ।नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार करिब चार हजार बिरुवा राखिएको छ ।
साढे दुई रोपनी क्षेत्रफलमा लगाइएको फूलबाट करिब रु तीनदेखि चार लाखसम्मको आम्दानी हुने लक्ष्य राखिएको छ । आश्रमका अध्यक्ष दाहाल भन्छन्, “फूलबाट हुने आम्दानी आश्रममा रहनुभएका वृद्धवृद्धाका लागि औषधोपचार र अन्य आवश्यकताका लागि खर्चिनेछौँ ।” 
आश्रममा कोही आफन्त नभएका, सडकमा अलपत्र परेका र बेसहारा अवस्थाका व्यक्तिलाई उद्धार गरेर राखिएको छ । यहाँ मानिस र सबै प्राणीले बाँच्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ कुकुर, मयुर, बिरालो, गाई, खसीलगायत विभिन्न प्राणी आश्रममा राखिएको समाजका कोषाध्यक्ष मिरा केसीले बताए । 
फूलको बिरुवा राख्ने, गोड्ने, फूल टिप्ने, माला उन्ने जस्ता कामले आफूहरुलाई दिन कटाउने मेलोसमेत भएको धादिङ गल्छी गाउँपालिका–१ फोस्टारबाट उद्धार गरिएकी ८४ वर्षीया अमृतकुमारी अधिकारीले बताए ।
 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार