नवौँ राष्ट्रिय खेलकुद; 'पोखरा पर्यटनका लागि महत्वपूर्ण' 

बिहीबार, असोज २७, २०७९

गण्डकी । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)का केही खेल सम्पन्न गरिसकेको पोखराको गरिमा र महत्व यतिखेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बढाएको छ । 
विसं २०३८ देखि सुरु भएको नेपाली राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० मा सम्पन्न गरेको पोखराले आफ्नो घरेलु मैदानमा चार दशकपछि नवौँ संस्करणको राष्ट्रिय खेलकुद सञ्चालन गर्ने मौका पाएको हो ।
औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि प्रतियोगिताअन्तर्गतका केही खेल सञ्चालन भइरहेका छन् । पर्यटकीय नगरी पोखरामा राष्ट्रिय खेलकुद भइरहँदा खेलप्रेमी त खुसी छन् नै प्रतियोगिताका लागि पोखरा आइपुगेका खेलाडी, अफिसियलसँगै दर्शकको स्वागतको पर्खाइमा रहेका पोखरेली पर्यटन व्यवसायीलाई पनि हर्षित बनाएको छ । 

RK-Pokhara-MinisterGahatrajd1665610287.jpg
खेलाडी तथा अफिसियल गरी १० हजारको जमघट रहने प्रतियोगितका सहभागीलाई पोखरामा स्वागत गर्न पाउनु पोखरेलीवासीका लागि गौरवको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । 
“यो प्रतियोगिताले यहाँको पर्यटनमा दूरगामी प्रभाव राख्छ”, उनले भने, “खेलकुद र पर्यटन एकअर्कामा परिपूरक जस्तै हुन्, पोखरा आउने खेलाडी तथा अफिसियलको आतिथ्यताका लागि पोखरेली पर्यटन व्यवसायी आतुर छन् ।”
पोखरा रङ्गशालाको चार सय १७ रोपनीभित्र विभिन्न खेलका पूर्वाधार एवं अन्य संरचना तयार छन् । राष्ट्रिय खेलकुदका लागि सिँगारिएको रङ्गशाला र खेलाडीको चहलपहल हेर्न लायक छ । पोखरा बजारमा ठाउँठाउँमा राखिएका स्वागतद्वारले पोखरा दुलही झैँ सिँगारिएको छ ।
यसअघि सार्क मन्त्रिपरिषद्को बैठक सम्पन्न हुनुका साथै बेलायती राजकुमार ह्यारी, भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीजस्ता विशिष्ट व्यक्तिले औपचारिक भ्रमण गरिसकेको पोखरामा यसअघिको दक्षिण एशियाली खेलकुदका लागि विभिन्न देशबाट आएका खेलाडीले यहाँको मुक्तकण्ठले प्रशंसा गरेका थिए । सार्क मन्त्रिपरिषद् बैठकका सहभागीले त पोखरालाई भगवान्ले फुर्सदमा बनाएको सहरको उपमासमेत दिएका थिए ।
प्राकृतिकरूपमा सुन्दर पोखराका लागि नवौँ राष्ट्रिय खेलकुद यहाँको प्रचारप्रसारका लागि महत्वपूर्ण बन्ने विश्वास लिइएको छ । खेल पर्यटनका माध्यमबाट विश्वका विभिन्न राष्ट्रले ठूलो रोजगारी सिर्जना गरेको उदाहरण दिँदै पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले भन्दै पोखरामा हुने राष्ट्रिय खेलले खेल पर्यटनका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताए ।
उनका अनुसार युरोपेली फुटबलका माध्यमबाट खेलाडीसँगै त्यससँग सम्बन्धित लाखौँको रोजगारी सिर्जना भएको पाइन्छ । मित्रराष्ट्र चीन र भारतमा पछिल्ला समयमा व्यावसायिकरूपमा खेलको विकास हुँदै गएको छ । 
खेल पर्यटनको विकासका लागि खेलाइने खेल अधिकतम दर्शकलाई आकर्षित गर्ने खालका हुनुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी बताउँछन् । पोखरामा हुने राष्ट्रिय खेलकुदसँगै आउने खेलाडी तथा अफिसियलका कारण यहाँको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

202210120949-6dcc4dcb-fefe-4fe6-a6e4-1b66538ade22_medium1665568793.jpg 
यसअघि दक्षिण एशियाली खेलकुद(साग) कै सन्दर्भमा पोखराको रङ्गशालालाई थप व्यवस्थित गरिएको थियो । त्यस्तै उक्त अवसरमा महिला फुटबल, महिला क्रिकेट, ह्याण्डबल, आर्चरी, ब्याडमिन्टन, भारोत्तोलन र ट्रायाथोलन जस्ता खेल यहीँको मैदानमा सम्पन्न भएका थिए । नवौँ राष्ट्रिय खेलकुदमा खेलाइने ३६ खेलमध्ये २६ वटा खेल पोखरामा नै हुने खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र एक गैरआवासीय नेपाली सङ्घ(एनआरएन) गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुनेछ । 

RK-Pokhara-Khelkuda1665527128.jpg
प्रतियोगितामा एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन, पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नाष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास, उसु, आर्चरी र फेन्सिङ खेल पोखरा रङ्गशालमा हुनेछ । पुरुष बास्केटबल पोखरामा नै हुनेछ । 
जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने छ । पौडी फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ ।
रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ । पोखरा र बाहिर हुने सबै खेलका लागि मैदान तयार रहेको गुरुङले जानकारी दिए । प्रतियोगितामा सात हजार सात सय ९९ खेलाडी सहभागी हुनेछन् । महिला तीन हजार छ सय ८५ र पुरुष  चार हजार एक सय १४ सहभागी छन् । प्रतियोगितामा तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्यपदक वितरण गरिनेछ । 

JS_Lamjung-mbodhannextpiclamjung1665322282.jpg
पोखरामा होटेललगायतका पूर्वाधार पर्याप्तमात्रामा रहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् । “पोखरा र आसपासका होटेलमा प्रत्येक दिन ४० हजार  अतिथिलाई राख्न सकिन्छ”, उनले भने, “लेकसाइडमा मात्रै दैनिक ३० हजारसम्म राख्न सकिन्छ ।” यहाँ पाँचतारे, तीनतारे सुविधा सम्पन्न होटल चार सय हाराहारी छन् । 
यहाँको पर्यटकीय इतिहास खोतल्दा सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि पोखराको पर्यटन फस्टाउँदै गएको हो । भूकम्प, कोरोनालगायतका प्राकृतिक विपत्ति एवं महामारीले समग्र देशकै पर्यटन प्रभावित हुँदा पोखरा पनि त्यसबाट अछुतो रहेन । 
पोखरामा आउने पर्यटकका लागि माछापुच्छ«े हिमालको छायाँ देखिने फेवातालले राम्रैसँग आकर्षित गर्ने गरेको छ । सूर्योदयसहित पोखराको दृश्यावलोकनका लागि उत्कृष्टस्थल सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोट जस्ता गन्तव्यले यहाँको गरिमालाई अझै बढाएको छ ।
महेन्द्र, चमेरे, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । धार्मिक पर्यटनमा उत्तिकै महत्व राख्ने विन्ध्यवासिनी, ताल बाराही, भद्रकाली, नारायणस्थान जस्ता गन्तव्य पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखराकै कमलपोखरीसहित लेखनाथ क्षेत्रका बेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी पनि यहाँका अन्य महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् ।

RK_Pokhara-0O7A1419_5-011665610380.jpg

पोखरा महानगरद्वारा विजेता खेलाडीलाई पुरस्कार घोषणा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ ।
राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने महानगरका खेलाडीलाई नगदसहित सम्मान गरिने महानगरले जनाएको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्यपदक विजेता खेलाडीलाई क्रमश ः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद सहितसम्मान पत्र प्रदान गरिने निर्णय भएको छ ।
पाँच÷पाँच हजार दरले पुरस्कार प्रदान गरेर खेलाडीलाई प्रोत्साहित गरिनेछ । महानगरबाट राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई शुभकामना व्यक्त गर्दै महानगर प्रमुख आचार्यले महानगरवासीलाई एकताबद्ध भएर खेलाडीलाई हौसला बढाउन आग्रह गरे । 
उनले भने, “नवौँ राष्ट्रिय खेलकुद हाम्रो सामु छ । प्रतियोगिता सफल बनाउनेसँगै पदक जितेर पोखरा र गण्डकीको सान बढाउन सबैमा आग्रह गर्न चाहन्छौँ ।”
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले खेलाडीलाई जीतको शुभकामना दिँदै गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेको नवौँ राष्ट्रिय प्रतियोगिताको ट्रफी प्रतियोगिता जितेर यहीँ राख्ने गरी मिहनेत गर्न आग्रह गरे ।
उनले भने, “हाम्रा लागि ठूलो अवसर अहिले प्राप्त भएको छ, नवौँ राष्ट्रियको ट्रफी हामीले नगर परिक्रममा गरी स्वागत गरेका छौँ । अब प्रतियोगिता जितेर ट्रफी हाम्रो प्रदेशमा राख्ने गरी खेलाडीले प्रदर्शन गर्न सफल हुनुहोला ।”
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले राष्ट्रिय खेलकुदमा महानगरका २०० खेलाडीले गण्डकी प्रदेशबाट ३२ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिए । 
गण्डकी प्रदेशका आठ जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका ३६ खेल सञ्चालन हुनेछन् । प्रतियोगिता औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भए पनि केही खेल असोज २३ देखि पोखरामा जारी छन् । प्रतियोगिताको उद्घाटन र समापन पोखरा रङ्गशालामा हुनेछ । 

RK-Pokhara-MinisterGahatrajc1665610291.jpg

फेन्सिङमा बागमतीलाई दुई र आर्मीलाई एक स्वर्ण 

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्णपदक जितेको हो । बागमतीको यो फेन्सिङमा तेस्रो स्वर्णपदक हो ।
पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश नं १ ले कास्यपदक प्राप्त गरेको छ ।
यसैगरी महिला ‘इपी टिम इभेन्ट’को स्वर्ण नेपाली सेनाले जितेको छ । सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जिते । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमले कास्य पदक जिते ।
महिला ‘सेबर टिम इभेन्ट’ प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश नं १ ले कास्यपदक जिते । फेन्सिङको अङ्क तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहन सफल भयो । बागमतीले हालसम्म चार स्वर्ण र एक रजतपदकसहित पाँच पदक जितेको छ । 
यसैगरी आर्मीले तीन स्वर्ण, पाँच रजत र छ कास्यसहित १४ पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, तीन रजत र छ कास्यसहित १० पदकका साथ तृतीय स्थानमा छ ।  सुदूरपश्चिम प्रदेश एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेको छ ।
यसैगरी प्रदेश नं १ ले हालसम्म तीन कास्यसहित पाँचौँ स्थानमा रहँदा आयोजक गण्डकी प्रदेश एक कास्यसहित फेन्सिङको पदक तालिकामा पुछारमा छ । पोखरामा यही असोज २४ गतेदेखि फेन्सिङ खेल जारी छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार