पोखरामा खेलकुदको ‘कुम्भमेला’को तयारी पूरा

बुधबार, असोज २६, २०७९

काठमाडौँ । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । 
युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उक्त प्रतियोगिता उद्घाटन गर्नेछन् । प्रतियोगिता आगामी शुक्रबार उद्घाटन हुने भएता पनि पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेको छ । यस्तै महिला क्रिकेट, ह्यान्डबल फेन्सिङलगायतका केही खेल पनि सुरु भइसकेका छन् । प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । 
खेलकुदप्रति चासो राख्ने सबैको ध्यान अहिले पोखरा र त्यस वरपरका जिल्लामा सञ्चालन हुने प्रतियोगितामा केन्द्रित भएको छ । गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङबाहेकका जिल्लामा सञ्चालन हुने प्रतियोगितामा ३६ खेल विधा समेटिएको छन् । प्रतियोगिता सञ्चालन र व्यवस्थापनका लागि पोखरामै सचिवालय खडा भइसकेको सचिव गौतमले जानकारी दिए । विसं २०४० मा दोस्रो राष्ट्रिय खेलकुद गरेको पोखराले चार दशकपछि पुनः प्रतियोगिता सञ्चालन गर्न लागेको हो । नेपालको खेलकुदको कुम्भमेलाका रूपमा रहिआएको यस प्रतियोगितामा करिब आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षक सहभागी हुनेछन् । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना सङ्क्रमणले केही समय ढिला भएको हो ।
प्रतियोगितामा केही खेलविधा तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा सञ्चालन हुनेछन् । आजसम्म सबै खेलाडी तोकिएको खेलस्थल पुग्ने कार्यक्रम छ । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)  टिमले स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकाका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलकुद समाजका सबै जातजाति र समुदायलाई एकीकृत र समावेशी प्रतिनिधित्व गराउने सशक्त विधा हो ।
प्रतियोगितामा एथलेटिक्स, क्रिकेट, ब्याडमिन्टन, फुटबल, टेनिस, बक्सिङ, भलिबल, जिमन्यास्टिक, ह्याण्डबल, सफ्टटेनिस, सेपाताक्रो, स्क्वास, उसु, जुडो, ‘फुलकन्ट्याक्ट’ कराते, पौडी, हक्की, भारत्तोलन, गल्फ, साइक्लिङ, ट्रायथलन प्याराग्लाइडिङ, आर्चरी, फेन्सिङ, कबड्डी, आइटिएफ तेक्वान्दोे, बास्केटबल, कराते, बुद्धिचाल र कुस्तीलगायत केही प्रदर्शनी खेलविधा समेटिएको छ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् । 
प्रतियोगिता आयोजक समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला खेलाडीको समेत सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी प्रशिक्षण र तयारीका लागि केन्द्रीय सरकारले प्रत्येक प्रदेशलाई रु ४९ लाख रकम उपलब्ध गराएको थियो । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा यसपटक रु १० लाखको लागतमा ‘रनिङ ट्रफी’ तयार गरिएको छ । प्रतियोगिता गर्न सङ्घीय सरकारले रु ६० करोड बजेट निकासा गरेको थियो । प्रदेश सरकारबाट पनि प्राथमिकताकासाथ रकम विनियोजन गरिएको छ ।
प्रतियोगिता ऐतिहासिक र भव्यरूपमा सम्पन्न गर्न १३ विभिन्न विषयगत समिति गठन गरी सहभागिता, समन्वय र सहजीकरणको काम भइरहेको छ । विगतमा सङ्घीय संरचनाको ढाँचामा हुँदै आएको प्रतियोगिता पहिलोपटक यसपटक प्रादेशिक संरचनामा हुन लागेको हो । प्रतियोगिताबाट नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान र छनोट हुने अपेक्षा गरिएको छ ।

नेपाली सेना १२ पदकसहित शीर्ष स्थानमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल यही असोज २३ देखि पोखरामा सञ्चालन भइरहेका छन् । राष्ट्रिय खेलकुद औपचारिकरूपमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । समय र पूर्वाधार अभावका कारण केही खेल प्रतियोगिता उद्घाटनअगावै सुरु भएका हुन् । पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ ।

202210121026-e06de160-f0f8-4f54-9e41-6f853452cb09_medium1665569017.jpg
पोखरामा नवौँअन्तर्गत अहिले महिला क्रिकेट, फेन्सिङ र महिला तथा पुरुष ह्याण्डबल खेल जारी छन् । हालसम्म सात स्वर्णसहित २७ पदकको छिनोफानो भएको छ । फेन्सिङमा छ स्वर्णसहित २४ पदकको टुङ्गो लागेको छ । नेपाली सेना हालसम्म पदक तालिकामा शीर्ष स्थानमा रहन सफल भएको छ । आर्मीले दुई स्वर्ण, चार रजत र छ कास्य गरी १२ पदक प्राप्त गरेको छ । लुम्बिनी प्रदेशमा तीन वर्षअघि सम्पन्न आठौँ राष्ट्रियमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो । आर्मीकी रमाकुमारी सिंह र इन्द्र पौडेलले फेन्सिङमा स्वर्ण प्राप्त गरेका छन् । 
यसैगरी बागमती प्रदेश दुई स्वर्ण र एक कास्यसहित तालिकाको द्वितीय स्थानमा छ । बागमतीका ओमकार सिंह र शिक्षा नापितले फेन्सिङमा स्वर्ण जिते । सशस्त्र प्रहरीको एपिएफ क्लब एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित तेस्रो स्थानमा छ । एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङमा स्वर्ण जिते ।  
सुदूरपश्चिम प्रदेशका जलेन्द्रबहादुर शाहीले फेन्सिङमा स्वर्ण जितेका छन् । सुदूरपश्चिमले एक स्वर्ण र एक कास्य जितेको छ । नेपाल प्रहरीको पुलिस क्लबले पुरुष क्रिकेटमा स्वर्ण जितेको छ । आयोजक गण्डकी प्रदेशले हालसम्म एक कास्य पदक प्राप्त गरेको छ । कर्णाली, लुम्बिनी, मधेस, प्रदेश नं १ र एनआरएन हालसम्म पदकविहिन अवस्थामा छन् । राष्ट्रिय खेलकुदमा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि सात प्रदेश, तीन विभागीय टोली र एनआएरएनको टोलीबीच प्रतिस्पर्धा हुँदैछ । 

खेलाडीद्वयलाई नगदसहित सम्मान

प्रदेश नं १ कै उत्कृष्ट कबड्डी खेलाडी बन्न सफल भएकी जानकी उराव र गङगा सरदारलाई सम्मान गरिएको छ ।
कोसी गाउँपालिकाको कार्यालयले मङ्गलबार कोसी–३ स्थित राष्ट्रिय मावि शोभनपुरमा कार्यक्रमको अयोजना गरेर खेलाडी उरावलाई गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले सम्मानपत्र र नगद रु ११ हजार प्रदान गरे । 
त्यसैगरी सुनसरीको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय कबड्डी खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने अर्की खेलाडी सदालाई पनि अध्यक्ष अन्सारीले सम्मानपत्र र नगद पाँच हजारसहित सम्मान गर्नुभएको गाउँपालिकाका समाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए । उनीहरुले प्रतिनिधित्व गरेको सुनसरी जिल्लाले प्रदेशस्तरीय कबड्डीको स्वर्ण पदक जितेको थियो । यसैगरी उनीहरूलाई प्रशिक्षण दिने कबड्डी प्रशिक्षक तरुण यादवलाई समेत सम्मान गरिएको छ ।
कोसी गाउँपालिकाले आयोजना गर्दै आएको अध्यक्ष कप खेलकुद प्रतियोगिताको परिणामस्वरूप कबड्डी खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको अध्यक्ष अन्सारीले बताए । पालिकाले कबड्डी, भलिबललगायतका सम्भावना बोकेका खेलका खेलाडीलाई प्रशिक्षण दिँदै आएको उनले जानकारी दिए । 
बिदाइ तथा सम्मान कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, नेपाली काङग्रेसबाट सुनसरी–४ ९क० का उम्मेदवार महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल, कोसी–३ का वडाध्यक्ष सुलेमान मन्सुरी, २ का वडाध्यक्ष ध्यानी उराव, राष्ट्रिय मावि शोभनपुरका प्रअ हरेकृष्ण राउत, नेपाली कांग्रेसका कोसी उपसभापति धर्मेन्द्र विश्वासलगायतको सहभागिता थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार